
अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना र ग्यास्ट्रो सेन्टर प्रालि बुटवलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो । विभिन्न रोगका विशेषज्ञ डाक्टरबाट सेवा दिने उदेश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा पेट, छाती, आन्द्रा कलेजो जस्ता रोगहरूको उपचार गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
सन्धिखर्क नगरपालिका र छिमेकी पालिकामा रहेका नागरिक लक्षित शिविरको आयोजना गरिएको श्रेष्ठले बताए । उनका अनुसार ‘सन्धिखर्क नगरवासीसँगै जिल्लाका सबै नागरिकको स्थास्थ्य परीक्षण गरिएको छ । उपचार गर्न अन्यन्त्र जान नपाएकाहरूको उपचार गर्ने उदेश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । घर छेउमै विभिन्न रोगको परीक्षण गर्न पाउँदा बिरामीहरूलाई सहज भएको स्थानीय श्रीकृष्ण भुसालले बताए ।
निःशुल्क स्वास्थ्य लाभ लिन बुटवल, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतामा रहेका विरामीले सन्धिखर्कमै विशेषज्ञ डाक्टरहरूसँग चेकजाँच गराउन पाउँदा बिरामीहरूले खुसी व्यक्त गरेका थिए । शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, इसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । सन्धिखर्क नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको सन्धिखर्क नगरप्रमुख श्रेष्ठले दाबी गरे ।
शिविरमा प्रायः पेटसम्बन्धी बिरामी भेटिएको ग्यास्ट्रो सेन्टर बुटवलका प्रमुख एवं विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिए । हाल जिल्लामा सामान्य उपचारबाहेक विशेषज्ञ सेवा लिन अनेत्र जानुपर्ने अवस्था रहेको छ । अहिले जिल्लावासीको उपचार गर्दै आएको अर्घाखाँची अस्पतालमा हाडजोर्नी र प्रसूती सेवाबाहेक अन्य रोगको विशेषज्ञ डक्टरहरू छैनन् ।
जिल्लामा भौतिक संरचना अभावले पनि विशेषज्ञ सेवा दिन कठिन रहेको जनप्रतिनिधि बताउछन् । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेलाबेलामा आयोजना हुने शिविरले बिरामीको उपचारमा टेवा पुग्नगे नगरप्रमुख श्रेष्ठको भनाइ छ । सुविधा सम्पन्न अस्पताल नभएकै कारण कयौं नागरिकहरू जिल्लाबाट बसाइँसराइँ सरेको स्थानीयको गुनासो छ । शिविरमा ३ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियारले जानकारी दिए ।
