
बुटवल : रूपन्देहीको सियारी गाउँपालिकाले घुम्ती शिविरमार्फत विभिन्न सेवा प्रदान गर्दै आएको छ । पालिकाले ७ वटै वडामा पुगेर घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्दै आएको हो ।
गाउँपालिकाले योजना सम्झौता, अपांगता र ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ । शिविरमा नसर्ने रोगको निःशुल्क परीक्षण, आयुर्वेद स्वास्थ्य, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरण गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
आइतबार सियारी गाउँपालिका–६ मा शिविर सञ्चालन गरिएको थियो । नागरिकलाई सहज सेवा प्रदान र पालिकाको योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
उनले भने, ‘दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिने हेतुले लागेका छौं, घुम्ती शिविरमा जनप्रतिनिधि कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक सहभागी थिए । हाम्रो मुख्य उद्देश्य मंसिर महिनाभित्रै योजना सम्झौता गरिसक्नुपर्ने छ । समयमै सम्झौता भए समयमै योजना कार्यान्वयन गर्न सघाउ पुग्छ ।’
वडा नम्बर–६ देखि सुरु गरिएको शिविर वडा नम्बर–१ मा पुगेर सकिने उपाध्यक्ष तारा थारुले बताइन् । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको थारुले बताइन् ।
शिविरमा ३५ जनाको स्वास्थ्य परीक्षण, ज्येष्ठ नागरिक परिचयपत्र, अपांगता परिचयपत्र, आयुर्वेद सेवा, कृषि तथा पशु सेवा र पाँच जनालाई रोजगार सेवा उपलब्ध गराइएको पालिकाले जनाएको छ ।