
बर्दिया : बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो ।
मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयन विषयमा छलफल तथा व्यवहारिक अभ्यास गराइएको थियो । सहभागीहरूले विद्यालय तहमा अपांगता भएका बालबालिकाको समयमै पहिचान र अभिलेखीकरणमा आफूहरू अझ स्पष्ट र सक्षम भएको बताए ।
तालिममा सहभागी पालिकाका शिक्षा शाखा प्रतिनिधिहरूले विद्यालयस्तरमा समावेशी शिक्षा कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । सहभागी सबैले तालिमबाट प्राप्त सीप र ज्ञानलाई आ–आफ्नो विद्यालयमा व्यवहारमा उतार्दै अपांगता भएका बालबालिकाका लागि सुरक्षित, पहुँचयोग्य र समावेशी शैक्षिक वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।