
बर्दिया : बालबालिकाको नेतृत्व विकास, सक्रिय सहभागिता तथा ज्ञान आदान–प्रदानलाई प्रवर्धन गर्ने उद्देश्यसहित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–४ स्थित सरस्वती आधारभूत विद्यालय, जोधिपुरमा साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोनाहा विकास समाज बर्दियामार्फत सञ्चालित ग्लोबल युथ नेटवर्क कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ग्लोबल युथ नेटवर्कमा आबद्ध विद्यार्थीहरूले आफूले सिकेका ज्ञान, सीप र अनुभवहरू विद्यालयका अन्य विद्यार्थीहरूसँग प्रस्तुतीकरणमार्फत साझा गरेका थिए । विशेषगरी दिगो विकास लक्ष्य, जलवायु परिवर्तनबाट उत्पन्न चुनौती, त्यसले बालबालिका र समुदायमा पारेको प्रभाव तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका उपायहरू विषयमा केन्द्रित रही ७ समूहका विद्यार्थीहरूले आ–आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले पोस्टर, चार्ट तथा सन्देशमूलक प्रस्तुतीकरणमार्फत वातावरण संरक्षण, स्वच्छ पानी, सरसफाइ, ऊर्जा बचत, वृक्षारोपण र जलवायु सचेतना जस्ता विषयहरू प्रभावकारी रूपमा उठान गरेका थिए ।
बालबालिकाद्वारा बालबालिकालाई सिकाउने अवधारणाले कार्यक्रमलाई अझ जीवन्त र प्रभावकारी बनाएको सहभागीहरूको भनाइ थियो ।
विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक रत्न केसीले ग्लोबल युथ नेटवर्क कार्यक्रमको उद्देश्य, महत्व र अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै बालबालिकालाई परिवर्तनका संवाहकका रूपमा अघि बढाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी अभिभावक तथा शिक्षकहरूले कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण सीप र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका थिए ।