–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
गोकर्णेश्वर नगरपालिकाले यसै जेठमा ज्येष्ठ नागरिकहरूलाई मठ मन्दिर भ्रमण गराउने क्रममा पंक्तिकार पनि सहभागी रहेको थियो । निकै गर्मी, बाटो असहज, १४० जनाको समूहमा जसोतसो यात्रा पूरा गरी त्यस क्षेत्रको अवलोकनपछि गण्डकी र देवघाटको प्रसङ्ग चर्चा गर्ने प्रयास यहाँ गरिएको छ । शुरुमा गण्डकीको शिरभागमा प्रवेश गरौँ ।
नेपालका चार धाममध्ये प्रसिद्ध मुक्तिनाथ धामलाई गण्डकी नदीले पावन बनाएकी छिन् । कालीगण्डकीलाई भगवान् विष्णुको गण्डस्थलबाट निसृत भएको मानिन्छ । यिनको उद्गमस्थल दामोदरकुण्ड हो । दामोदर हिमालबाट हिमनदी पग्लिएर बनेको ताललाई दामोदरकुण्ड भनिन्छ । श्रीविष्णु भगवान् द्वापरयुगमा माता यशोदाबाट दाम्लोमा बाँधिएपछि उनको नाम दामोदर रहन गएको हो । त्यही नदी हुन् गण्डकी तल आएपछि नारायणी ।
सर्वासां सङ्गमे घोरैर्देवघट्ट उदाहृतः । सर्वतीर्थमयस्तत्र स्नात्वा कोटिगुणं फलम् ।।
पृथिव्यां यानि तीर्थानि सन्ति फल–प्रदानि च । कोटि–कोटिगुणं तेभ्यः स्नानात्तत्र प्रलभ्यते ।।
(–हिमवत्खण्ड, स्कन्दपुराण)
विष्णुप्रिया कृष्णा गण्डकी र शिवप्रिया त्रिशूलीको सङ्गम र नारायणी नदीको सङ्गम देवघाट क्षेत्र हो । बराहपुराण एवम् स्कन्द पुराणले देवघाटधामका बारेमा व्यापक चिन्तन गरेका छन् । भारतमा बद्रीनाथदेखि बग्दै गएकी गङ्गा एवम् यमुनाको सङ्गम अलाहवादको प्रयागमा हुन्छ । ठीक त्यस्तै नेपालको दामोदरकुण्ड, मुक्तिनाथ हुँदै आएकी कालीगण्डकी र गोसाइँकुण्डदेखि बग्दै आएकी त्रिशूलीको सङ्गम तीर्थराज प्रयागस्वरूप देवघाटधाममा हुन्छ । देवताहरूले स्वर्गदेखि यहाँ आएर स्नान गर्ने क्षेत्र भएकाले यसलाई देवघाट भनिएको हो ।
विश्वमा सम्पूर्ण तीर्थ क्षेत्रमा गरिएको पुण्य, स्नान, दान, जप, योग, ध्यानको फल देवघाट क्षेत्रमा गर्दा पाइन्छ । यहाँ केवल स्नानमात्र गर्दा पनि विश्वभरि रहेका करोडौं तीर्थ क्षेत्रहरूको पुण्यफल प्राप्ति हुन्छ । सत्ययुगदेखि नै देवघाट आफ्नो अस्तित्वमा रहेको थियो । कालखण्डले बीच बीचमा लोप गराउँदै ल्याए पनि विशाल नदीहरूको सङ्गम क्षेत्र यसलाई पुण्यात्माहरूले आदिप्रयाग भनेका छन् । हरि र हर अर्थात् नारायण र शिव संयुक्तरूपमा प्राप्त हुने यो क्षेत्रलाई हरिहर क्षेत्र भन्दछन् । सृष्टिकर्ता ब्रह्माजीले यहीँ बसेर कठोर तप गरी ब्रह्माण्डको रचना गर्ने सामर्थ्य प्राप्त गरेका हुन् । देवताहरूको बासस्थल देवघाटमा गरिएका साना कार्यले पनि अनन्त फल प्राप्ति हुन्छ । देवघाटजस्ता शीर्षस्थ क्षेत्रले गर्दा नेपाललाई एउटा पवित्रधाम बनाएको छ ।
यहाँ धेरै मठ–मन्दिरहरू छन् । सबैभन्दा प्राचीन मन्दिर भनेको पाल्पाका राजा मणि मुकुन्दसेनले स्थापना गर्न लगाएका ‘चक्रेश्वर शिवालय’ नै हो । स्वामी गलेश्वरबाबाको सतत् प्रयासबाट देवघाटको स्वरूपमा सुन्दरता थपिएको छ । भनिन्छ, मणिमुकुन्दसेनले आफ्नो उत्तरकालिक जीवन यहींँ बिताएका थिए । सन्यासी, धार्मिक, पुण्यात्माजनहरू आज पनि त्यहाँ धेरै भेटिन्छन् । त्यहाँ स्वामी परमानन्द निर्मित हरिहराश्रम, स्वामी रामानन्द निर्मित महेश सन्यास आश्रम तथा अन्य मठ, मन्दिर देवालयहरू थुप्रै छन् । चितवन, नवलपरासी र तनहुँको सङ्गम क्षेत्र देवघाटमा मकर संक्रान्तिका दिन विशेष मेला लाग्छ । अन्य विशेष पर्वहरूमा पनि त्यहाँ भक्तजन तीर्थयात्रीहरूको भीड नै देखिन्छ । सवारी यातायातको दृष्टिले निकै सुगम सो देवघाट क्षेत्र नारायणघाटबाट थोरै उत्तर–पूर्वमा पर्छ । देवघाट आध्यात्मिक, धार्मिक र पर्यटकीय दृष्टिले निकै प्रसिद्ध छ । बौद्धमार्गीहरूका लागि पनि स्तूपा, आश्रमहरू रहेको यो क्षेत्र तीर्थाटन एवम् कल्पवासका लागि अत्युत्तम छ ।
प्रकृतिको मनोरम छटाभित्र देवघाटक्षेत्रमा रही ऋषि–महर्षिहरूले आफ्नो साधना पूरा गरे, साहित्यको सृजना गरे, काव्यहरू लेखे । वेद, उपनिषत् तथा पौराणिक चिन्तनका प्रणेताहरू वेदव्यास, वशिष्ठ आदिले यस स्थललाई आफ्नो अध्ययन र साधनाको केन्द्र बनाएका थिए । देवघाटको उत्तरतर्फ कालीगण्डकी, बायाँ किनारामा वशिष्ठ गुफा रहेको छ । वशिष्ठ गुफा नजिकै नारायणीदेवीको मूर्ति स्थापित गरिएको दुर्गा गुफा रहेको छ । मर्यादापुरुषोत्तम श्रीरामका धर्मगुरु वशिष्ठले तप गरेको यो क्षेत्रमा सत्ययुगमा दैत्यासुर शुम्भ–निशुम्भ वधपछि मातादुर्गा भवानीले यसै नजिकमा रहेको गुफामा बसी विश्राम गरेका थिए, आराम गरेका थिए । दुर्गा गुफा नजिकै सीता गुफा रहेको छ भने माता सीताजीले पनि यस गुफामा आश्रय लिनु भएकोले यहाँ सीता गुफा पनि रहेको छ । सीताको चरण चिन्हसमेत रहेको यस गुफा क्षेत्रमा अन्य धार्मिक गुफाहरू पनि रहेका छन् ।
यसरी हरेक दृष्टिले पावन रहेको देवघाट क्षेत्रमा पुग्दैमा पनि जीवन धन्य हुने कुरा पुष्टि हुन्छ । भारतीय तीर्थयात्री पनि यहाँ स्नान, दान गर्न आउँछन् । मृत्युपछि अस्तु सेलाउने र शवदाह गर्ने कार्यको लागि पनि देवघाट पवित्र मानिएको छ । पहिले काठमाडौंबाट जाने हामीहरू नदी वारितिरै सवारी रनखेर झोलुङ्गे पुल भई नदी स्नान गर्ने गर्थ्यौं, अहिले समय बदलियो, दासढुंगाबाट नदी पुल पार गरी पिचरोड भई पूरै आश्रमसम्म पुगेका हौँ ।