२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : ती दिनहरू

shivam cement
सत्यजीत
२०८२ पुष ५ गते ०६:००
Shares
कविता : ती दिनहरू

फर्मान जारी भएको दिन–
सहर एक्कासि शान्त भयो,
तर त्यो शान्ति
शान्ति थिएन,
निरंकुश शासनको चक्र थियो ।
कागजमा हस्ताक्षरको,
मसी सुक्न नपाउँदै
सयौँ आवाज
भूमिगत भए ।
घरका झ्याल बन्द भए,
सपना तहखानामा झ¥यो,
र सत्य
फरार सूचीमा चढाइयो ।
त्यो दिन
सडक बोल्न छाड्यो,
पोस्टर राति टाँसिन थाले,
विचार होइन–
नाम लुकाइयो ।
दिनमा अपराधी,
रातमा नागरिक;
यसरी जन्मियो
भूमिगत जीवन ।
सरकारले भन्यो–
‘शान्ति कायम गरियो ।’
तर बन्दुकको नालबाट
शान्ति कहिल्यै आउँदैनथ्यो
हामीलाई थाहा थियो ।
घर–घरमा छापा,
मन–मनमा शंका,
र हरेक प्रश्नमाथि
देश द्रोहको छाप ।
भूमिगत जीवन
कायरता थिएन,
त्यो त
परिवर्तनको अर्को नाम थियो ।
यहाँ डरलाई बोकिँदैनथ्यो,
साहसलाई उच्च राख्दै,
आदर्श बचाइन्थ्यो ।
फर्मान जारी भएको दिन
कोही हाँसेनन्,
तर धेरैले आँखा झुकाएनन् ।
किनकि हामीलाई थाहा थियो–
फर्मानले शरीर थुन्न सक्छ,
तर विचारलाई
कहिल्यै जेल हाल्न सक्दैन ।
र आज पनि;
कुनै नदेखिने गल्लीमा,
कुनै अँध्यारो कोठामा,
कुनै चुपचाप मुटुमा
त्यही आवाज बाँचेको छ–
‘दमनको म्याद हुन्छ,
प्रतिरोधको हुँदैन ।’

सम्बन्धित खबर