
काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल-चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे । सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे ।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे ।

सभामुख घिमिरेले नेपाल एक-चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे । साथै उनले नेपाल–चीन संसदबीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे ।
सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको उदार विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
गणतन्त्र चीनका राजदूत छन सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे ।

राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए । उनले केही दिनअघि नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
राजदूत सोङले आफ्नो कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताए ।