
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ठूला जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि अन्तर्राष्ट्रिय लगानी, आधुनिक प्रविधि र प्राविधिक सहकार्य विस्तार गर्न आह्वान गरेको छ ।
क्यानडामा आयोजित क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ट्रेड सोमा सहभागी इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले नेपालको जलविद्युत् क्षेत्रमा रहेका सम्भावना प्रस्तुत गर्दै क्यानडासहित अन्तर्राष्ट्रिय लगानीकर्ता, आयोजना विकासकर्ता र प्राविधिक संस्थाहरूलाई सहकार्यका लागि आग्रह गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै डाँगीले विशेष गरी जलाशययुक्त आयोजना निर्माण, बाँध इन्जिनियरिङ, जलविद्युत् प्रविधि, ऊर्जा भण्डारण र जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने बताए । नेपालमा जलविद्युत् उत्पादनको पर्याप्त सम्भावना रहे पनि ठूला जलाशययुक्त आयोजना विकासका लागि लगानी, प्रविधि र प्राविधिक दक्षताको आवश्यकता रहेको उनको भनाइ थियो ।
नेपाल र क्यानडाबीच सुरक्षित, दिगो तथा जलवायु अनुकूल जलविद्युत् पूर्वाधार निर्माणमा दीर्घकालीन साझेदारीको अवसर रहेको उल्लेख गर्दै डाँगीले नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार र आधुनिक प्रविधिको उपयोगमा अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण हुने बताए ।
अध्यक्ष डाँगीले नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने लक्ष्य अघि सारेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनका अनुसार नेपालको हालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४.३ गिगावाट पुगेको छ । यसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान रहेको उनले दाबी गरे ।
सरकारले निर्धारण गरेको उत्पादन लक्ष्य हासिल गर्न थप ठूलो परिमाणमा विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने भएकाले आयोजना निर्माणसँगै प्रसारण पूर्वाधार र विद्युत् बजार विस्तारमा पनि लगानी आवश्यक रहेको उनको भनाइ थियो । उनले नेपालको बढ्दो आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा निर्यात विस्तार गर्ने अवसर रहेको बताए ।
उत्पादन, प्रसारण र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकासमार्फत नेपालले १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारीसमेत उनले सम्मेलनमा गराए । नेपालको जलविद्युत् सम्भावनाबारे चर्चा गर्दै डाँगीले जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलनलगायत विभिन्न अध्ययनहरूले देशमा २०० गिगावाटभन्दा बढी विद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएको बताए ।
उनले नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त तथा पम्प्ड स्टोरेज प्रकृतिका आयोजना विकास गरेर नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा आपूर्तिको महत्त्वपूर्ण केन्द्र बनाउन सकिने धारणा राखे ।
नेपालमा जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता सन् १९९९ देखि सुरु भएको उल्लेख गर्दै उनले सन् २००१ मा स्थापित इप्पानले निजी लगानी प्रवर्द्धन र ऊर्जा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको बताए ।
अन्तर्राष्ट्रिय लगानी तथा प्राविधिक साझेदारीका लागि सम्भावना रहेका ठूला आयोजनाहरूको उदाहरण प्रस्तुत गर्दै डाँगीले ७६२ मेगावाटको तमोर जलाशय, ६७० मेगावाटको दूधकोशी जलाशय, एक हजार २०० मेगावाटको बूढीगण्डकी जलाशय र एक हजार ६० मेगावाटको माथिल्लो अरुण आयोजनाको चर्चा गरे ।
यी आयोजनासहित विकासका विभिन्न चरणमा रहेका अन्य जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए । विशेष गरी जलाशययुक्त आयोजनाले विद्युत् उत्पादनसँगै ऊर्जा भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा भूमिका खेल्न सक्ने भएकाले यस्ता आयोजनाको विकासलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।
डाँगीले जलविद्युत् आयोजना निर्माण गर्दा बाँध सुरक्षा, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र पूर्वाधारको दीर्घकालीन दिगोपनलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले क्यानडासँग रहेको बाँध इन्जिनियरिङ तथा जलवायु उत्थानशील पूर्वाधार विकाससम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे ।
नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत् पहुँच पुगेको जानकारी दिँदै उनले जलविद्युत् क्षेत्रले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, जीवनस्तर सुधार र स्वच्छ ऊर्जा व्यापारमा योगदान पुर्याइरहेको बताए । क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपाल दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञहरूलाई नेपालमा आयोजना विकास, प्रविधि हस्तान्तरण, अनुसन्धान, व्यावसायिक तालिम र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य गर्नसमेत उनले आग्रह गरे ।
‘टाइड्स अफ चेन्ज’ अर्थात् ‘परिवर्तनका लहरहरू’ भन्ने मूल विषयमा आयोजित सम्मेलनले बाँध सुरक्षा, जलवायु अनुकूलन र दिगो जलविद्युत् विकासका अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको डाँगीको भनाइ थियो ।
सम्मेलनमा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त सिकाइ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ ।