२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

Nada
२०८३ कार्तिक ११ गते १३:०२
Shares
तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी : तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको कारोबार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य मानिने भएकाले माग बढेको हो ।

तिहारमा प्रयोग हुने माटोका दियो, कलश र घैँटासहित छठमा आवश्यक बाँसका कोनिया, नाङ्लो र ढाकीको बिक्री बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन् ।

एक दशकदेखि बाँसका सामग्रीको व्यापार गर्दै आएकी साहका अनुसार अन्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकामा दसैँदेखि तिहारसम्म दोब्बर हुने गरेको छ । अन्य समयमा विवाह, व्रतबन्ध र पूजाआजाजस्ता अवसरमा मात्र यस्ता सामग्रीको माग हुने गरेको उनले बताइन् ।

राजविराज नगरपालिका–२ की ममता झाले मधेसका चाडपर्व र पूजाआजामा माटोका भाँडा तथा बाँसका सामग्रीको विशेष महत्त्व रहेकाले तिहार र छठमा तिनको खरिद अनिवार्यजस्तै हुने बताइन् ।

राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले निर्माण गरेका बाँसका सामग्री स्थानीय बजारमै बिक्री हुनु सकारात्मक भएको बताए । यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै जिल्लाभित्रै आर्थिक कारोबार बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

स्थानीयस्तरमै उत्पादित माटो र बाँसका सामग्रीको खरिदबिक्री हुने भएकाले यस्ता सामग्रीका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको नगरप्रमुख परविनले बताए ।

ताजा खबर

सम्बन्धित खबर