२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

असहाय र गरिबको पीडामा मल्हम लगाउँदै उपाध्यक्ष पोखरेल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष ६ गते २१:०९
Shares
असहाय र गरिबको पीडामा मल्हम लगाउँदै उपाध्यक्ष पोखरेल

प्यूठान : प्यूठान स्थानीय तहका जनप्रतिनिधिको भूमिका नीति निर्माण र सेवामा सीमित मानिन्छ । तर सीमित बजेट र साधनका कारण सबै नागरिकको उपचारको जिम्मेवारी स्थानीय सरकार एक्लैले बहन गर्न सक्ने अवस्था छैन । 

यही यथार्थबीच प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले फरक अभ्यास सुरु गरेका छन्, नागरिकको उपचारका लागि नागरिकबाट सहयोग जुटाउने अभियान सञ्चालन गरि दर्जनौं बिरामीको उपचार गरिरहेका छन् ।

पत्रकारिताबाट राजनीतिमा आएका उपाध्यक्ष पोखरेलले पालिकाका असहाय र गरिब नागरिकको पीडालाई नजरअन्दाज गर्न सकेनन् । 

सरकारी स्रोतले सम्भव नभएको अवस्थामा उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्दै ‘नागरिक बचाऔं अभियान’ अघि बढाए । यस अभियानमार्फत झिमरुकसहित प्यूठानका दर्जनौं नागरिकको उपचार सम्भव भएको छ । उनको पछिल्लो पहल ‘सन्तोष विक बचाऔँ अभियान’ हो । 

झिमरुक गाउँपालिका–७ कुताकाका २६ वर्षीय विक साउदी अरबमा काम गर्ने क्रममा दुवै मिर्गाैला फेल भएपछि जीवन–मरणको दोसाधमा पुगे । सात सदस्यीय परिवारको एक्लो सहारा रहेका विकको उपचार आफ्नै आर्थिक क्षमताले सम्भव थिएन । परिवारको आग्रहपछि उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरे । 

देश–विदेशबाट जुटेको करिब ८लाख रुपैयाँ र विक परिवारलाई लिएर उपाध्यक्ष पोखरेल उपचारका लागि संघीय राजधानी पुगेका छन् । हाल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा विकको उपचार सुरु भएको छ । रगत समूह परीक्षणपछि विककी आमा सरस्वती सुनारसँग मिलान भएको छ र मिर्गौला प्रत्यारोपणको तयारी अघि बढेको छ । उपचार खर्च अझै अपुग भए पनि पोखरेलले अस्पताल प्रशासन र विभिन्न निकायसँग सहयोगका लागि समन्वय गरिरहेका छन् । 

यसअघि पनि पोखरेलकै पहलमा मल्लरानी गाउँपालिका–१ टोड्केका मधु पुनको उपचारका लागि करिब तीन लाख रुपैयाँ संकलन गरिएको थियो । मधु पुनको हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उपाध्यक्ष पोखरेल भन्छन्,‘हामी जनप्रतिनिधि हौं । नागरिकको सुख–दुःखमा साथ दिनु हाम्रो दायित्व हो ।’ 

उनी उपचारका मामिलामात्र होइन, सडक दुर्घटना वा अन्य आपत्का विपद्का बेला जिल्लाभन्दा बाहिर पुगेर पनि पीडितको साथ दिँदै आएका छन् । नागरिकको जीवन बचाउन निरन्तर सक्रिय देखिएका पोखरेलको यस अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् । संकटमा परेका नागरिकका लागि उनी भरोसाको पात्र बन्दै गएका छन् ।

सम्बन्धित खबर