
बर्दिया : बर्दियाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरूका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सुविधा मर्मत–सम्भारसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
वास गेन्स परियोजना अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका गुलरिया, बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकाभित्रका ३३ वटा विद्यालयका कार्यालय सहयोगीहरूको सहभागिता रहेको थियो ।
तालिमका क्रममा सहभागीहरूले विद्यालयमा रहेका धारा, शौचालय, हातधुने स्थल, पानी ट्यांकी तथा फोहोर व्यवस्थापनसँग सम्बन्धित संरचनाको संरक्षण र दिगो प्रयोगबारे व्यवहारिक ज्ञान हासिल गरेका छन् ।
साना–साना बिग्रिएका संरचनाको मर्मत गर्ने तरिका, खानेपानी सुरक्षित बनाउने उपाय तथा नियमित अनुगमन गर्ने विधिबारे पनि स्पष्टता आएको सहभागीहरूले बताएका छन् ।
तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् । उनीहरूले विद्यालयमा वास संरचनाको नियमित हेरचाह गर्ने, सरसफाइलाई दैनिक कार्यसूचीमा समावेश गर्ने र विद्यालय प्रशासनसँग समन्वय गरी मर्मत–सम्भारलाई निरन्तरता दिने बताएका छन् ।
तालिममा वास संरचनाको मर्मत–सम्भारको आवश्यकता, जिम्मेवारी व्यक्ति निर्धारण, सामान्य मर्मत कार्य, खानेपानी शुद्धीकरणका उपाय तथा संरचनाको नियमित अनुगमन र सम्भारसम्बन्धी विषयमा व्यवहारिक अभ्याससहित जानकारी प्रदान गरिएको थियो ।
आयोजक संस्थाका अनुसार तालिमले सहभागीहरूको ज्ञान, सीप र जिम्मेवारीबोध अभिवृद्धि गरेको छ । सहभागीहरूको सिकाइ र प्रतिबद्धताले विद्यालयमा स्वच्छ, सुरक्षित तथा बालमैत्री शैक्षिक वातावरण निर्माणमा दीर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।