
काठमाडौं : जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँच गरिरहेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । बाँकी रहेका केही सुरक्षा अधिकारी र कर्मचारीको बयान सकिएपछि आयोगले उनीहरूलाई कम्तीमा एक साताको समय दिएर पत्र पठाउने जनाएको छ ।
आयोगले पूर्वप्रधानमन्त्री ओलीको हकमा म्याद तामेल र बयानमा नआएमा के गर्ने भन्नेबारे छलफल गरिरहेको छ भने गृहमन्त्री लेखकले बयान दिन तयार रहेको सन्देश पठाएका छन् । आयोगले यसअघि गोली चलाउने सुरक्षाकर्मी, आदेश दिने अधिकारी र सम्बन्धित प्रशासनिक नेतृत्वको बयान लिइसकेको छ ।
आयोगले प्रधानमन्त्री र गृहमन्त्रीलाई अनुसन्धानको दायराबाट कसैलाई पनि छुट नदिने स्पष्ट पारेको छ ।