२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरुकाे गेटमा वीरगञ्ज महानगरले थुपारिदियो फोहोर

ADV
आबिद हुसेन
२०८१ साउन १३ गते १५:५१
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरुकाे गेटमा वीरगञ्ज महानगरले थुपारिदियो फोहोर

वीरगञ्ज : सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरुमा वीरगञ्ज महानगरपालिकाले कारबाही स्वरुप शहरबाट संकलन गरिएका फोहोर लगेर फयाँकिदिएको छ ।

नदीमा प्रदूषण नगर्न पटक-पटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दापनि नटेरेपछि आइतबार बिहानै वीरगञ्ज महानगरपालिकाले तीन वटा उद्योगमा ट्याक्टरमा फोहोर लगेर गेटभित्रै खसालेर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहको निर्देशनमा आइतबार वीरगञ्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रा.लि., श्रीसिद्धी टेक्सटाइल्स प्रा.लि. र मोरियम लेदर इण्डस्ट्रिजमा गरी ९ ट्याक्टर फोहोर लगेर थुपारिदिएको वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

यसअघि गत वैशाख ९ गते वीरगञ्ज महानगरले नदी प्रदूषित गर्ने उद्योगहरु सिल गर्ने तयारी गरेपछि त्यहिदिन ९ वटा उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदूषण नगर्ने लिखितरुपमै सामूहिक प्रतिबद्धता जनाएका थिए ।

तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दा पनि नदीको प्रदूषण नरोकिएपछि बाध्य भएर कारबाही स्वरुप आइतबार अटेरी गर्नेमध्येका ३ वटा उद्योगमा महानगरले शहरबाट संकलन गरिएका फोहोर लगेर थुपारिदिएको मेयर सिंहले बताए । उनले भने, ‘पटक-पटक म आँफैले नदी प्रदूषित गर्ने उद्योगहरुको अनुगमन गरेर सचेत गराएँ । ५ वटा उद्योगलाई ३/३ लाख रुपैयाँका दरले आर्थिक जरिवाना पनि गरियो । उद्योगीहरु आफैं महानगरपालिकामा आएर १५ दिनको समय पनि मागे । तर नदीको प्रदूषण रोकिएन । अब अत्ति नै भएपछि आज फोहोर लगेर महानगरले उद्योगभित्र थुपारिदिएको हो ।’

यति गर्दा पनि उद्योगहरुले नदी प्रदूषण नरोकेमा नेपालकाे प्रचलित कानूनबमोजिम महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगहरुविरुद्ध अझ कडा कदम चाल्ने चेतावन उनले दिए ।

गत वैशाख ९ गते महानगरपालिकाको कार्यालयमै पुगेर ९ वटा उद्योगका सञ्चालकहरुले अन्तिम पटकका लागि १५ दिनको समय माग्दै १५ दिनभित्र आफूहरुले उद्योग परिसरमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिसक्ने र त्यसपछि उद्योगको फोहोर पदार्थ र रसायनयुक्त पानी नदीमा विसर्जन नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

त्यसअघि गत असोज २९ गते वीरगञ्ज महानगरमा पर्सा र बारा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख र उद्योगीहरु सहभागी बैठकले गत छठ पर्व अगाडि नै (कात्तिक महिनामा) सिर्सिया नदीको प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गर्ने लिखित निर्णय नै गरेको थियो । उक्त बैठकमा पनि उद्योगीहरुले सिर्सिया नदीमा भइरहेको प्रदूषण रोक्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसअघि १४ चैत २०७९ मा वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गरेका वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई ३/३ लाख रुपैयाँ जरिवाना समेत तिराएको थियो । यस्तै १६ फागुन २०७९ मा पनि महानगगरले उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर १/१ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

वीरगञ्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि उद्योगहरुले प्रदूषित गर्दै आइरहेका छन् । बाराको रामवनबाट शुरु भइ पर्साको वीरगञ्ज महानगर हुँदै सीमावर्ती भारतको रक्सौलसम्म बगेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागजलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदोलगायतका विकारहरू सिधै नदीमा मिसाइँदा नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

वीरगञ्ज महानगरपालिकाले यस घटनाबाट सबै उद्योगहरूलाई पाठ सिक्न आग्रह गर्दै वातावरणीय जिम्मेवारी र नागरिक स्वास्थ्यप्रति संवेदनशील बन्न आह्वान गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise