२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

शितगंगामा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव सुरु

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष ९ गते २०:५१
Shares
शितगंगामा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव सुरु

अर्घाखाँची : शितगंगा उद्योग वाणिज्य संघको आयोजनामा चौथो शितगंगा महोत्सव बुधबार उद्घाटन गरिएको छ । महोत्सव शितगंगा–४, ठाडा डमरुदहमा सुरु भएको हो । ‘स्थानीय उत्पादन, स्थानीय बजार, समृद्धिको मूल आधार’ भन्ने नारासहित भव्य रूपमा महोत्सवको उद्घाटन गरिएको हो । 

उद्घाटन समारोहमा नगर प्रमुख छबिलाल पौडेलले महोत्सवले शितगंगाका सम्भावनाहरू पहिचान गरी आर्थिक विकास र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा संस्कृति र कलाको प्रवद्र्धनमा महोत्सवले योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

शितगंगा उद्योग वाणिज्य संघका महासचिव दिलबहादुर गुरुङका अनुसार महोत्सवमा कृषि, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधि क्षेत्रका १ सय १० भन्दा बढी स्टलहरू राखिएका छन् । 

कार्यक्रममा नगर उपप्रमुख गीता भाटले महोत्सवले विकट क्षेत्रको व्यापार तथा कृषि उत्पादन र बिक्री–वितरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । 

शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले महोत्सवले स्थानीय स्तरको अर्थतन्त्रलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिने बताए । उनले महोत्सवले कृषि तथा उद्योगसम्बन्धी स्थानीय उत्पादनको बजारीकरणमा भूमिका खेल्ने दाबी पनि गरे । सापकोटाले शितगंगा नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान गरी प्रचार–प्रसारणमा महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले नकारात्मक दृष्टिकोणमा मात्र ध्यान केन्द्रित गर्दा स्थानिय विकास नदेखिन सक्नेमा चिन्ता व्यक्त गरे । 

कार्यक्रममा पूर्वप्रदेश सांसद जाल्पा भुसाल, शितगंगा नगरपालिका पूर्वप्रमुख सूर्य प्रसाद अधिकारी, वडा नम्बर १ देखि १४ का अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । 

शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थिले महोत्सवले शितगंगालाई व्यावसायिक तथा पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउने, नगरभित्र उत्पादन हुने घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रवर्धन गर्ने उद्देश्य राखेको बताए । महोत्सव १२ दिनसम्म सञ्चालन हुनेछ र ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने तथा दुई करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा पत्रकार महासंघका अध्यक्ष गणेश खनालले समेत सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर