
अर्घाखाँची : अर्घाखाँची घरेलु तथा साना उद्योग कार्यालयले बाल विकास केन्द्रका लागि उपयुक्त सिकाइ प्रदान गर्ने उद्देश्यले युवतीहरुलाई ६५ दिने मन्टेश्वरी तालिम सुरु गरेको छ । तालिमको उद्देश्य आधारभूत तहबाटै सिकाइ सहज र प्रभावकारी बनाउनु हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गा न्यौपानेका अनुसार सार्वजनिक शिक्षा सुधार अभियान अन्तर्गत आयोजना गरिएको यो तालिममा जिल्लाभरका १५ युवती सहभागी छन् । तालिम ३ सय ९० घण्टाको हुनेछ र अर्घाखाँची कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।
तालिमबाट युवतीहरुले सिकेका ज्ञानका आधारमा भबिष्यमा आर्थिक उपार्जन गर्ने, महिला आत्मनिर्भर बन्ने साथै मन्टेश्वरी शिक्षकका रूपमा विद्यार्थीहरुलाई कक्षाकोठामा गुणस्तरीय शिक्षा दिने विश्वास व्यक्त गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले तालिम आधारभूत तहमा प्रभावकारी सिकाइ केन्द्रित अध्यापनका लागि उपयोगी हुने बताए । उनले भने, ‘तालिमपछि शिक्षक बनेर महिलाहरुले कक्षामा सिकेका सीप प्रयोग गरी आत्मनिर्भर बन्न सक्नेछन् ।’
शिक्षा इकाई समन्वय विकास कार्यालयका प्रमुख विष्णु बेल्बासेले अर्घाखाँचीमा सार्वजनिक शिक्षा सुधारका विभिन्न अभियानहरू सञ्चालन भइरहेको जानकारी दिए ।
सन्धिखर्क नगरपालिका प्रवक्ता मोतिजंग रायमाझीले भने,‘मन्टेश्वरी शिक्षाले बालबालिकालाई अनुशासित, सभ्य र मर्यादित बनाउन, प्रतिभा प्रस्फुरण, बौद्धिक र शारीरिक विकास, समूहमा काम गर्ने क्षमता र सकारात्मक भावनाको विकासमा मद्दत गर्छ ।’
वडाध्यक्ष माधव श्रेष्ठले यस तालिमले बालबालिकाको सिकाइ सुधारमा योगदान गर्ने बताए । तालिमको उद्घाटन कार्यक्रम दुर्गा न्यौपानेको अध्यक्षता भएको थियो भने कार्यक्रम सञ्चालन हुम बहादुर विकले गरेका थिए ।