
अर्घाखाँची : आर्थिक अभावका कारण लामो समयदेखि उचित उपचार नपाएका अर्घाखाँचीको शितगंगा नगरपालिका–९, सिद्दाराका ६ वर्षीय बालक हिम्मत पोख्रेलको शितगंगा नगरपालिकाले उद्वार गरी थप उपचारको व्यवस्था गरेको छ ।
करिब पाँच महिनादेखि लगातार ज्वरोका कारण थलिएका बालक हिम्मतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको जानकारी पाएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको पहलमा तत्काल उद्वार गरिएको हो । आर्थिक समस्याका कारण समयमै उपचार गराउन नसक्दा बालकको अवस्था जटिल बनेको सापकोटाले जानकारी दिए ।
बालकका बुबा गणेश पोख्रेलका अनुसार यसअघि छोराको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो । तर उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि अवस्था झन् जटिल बन्दै गयो । निरन्तर उपचारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन नसकिएपछि परिवारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग सहयोगको लागि सम्पर्क गरेको थियो ।
अवस्था गम्भीर भएपछि अभिभावकले बालकलाई शितगंगा नगरपालिका अन्तर्गतको ठाडा प्राथमिक उपचार केन्द्रमा ल्याएका थिए । त्यहाँ गरिएको प्रारम्भिक जाँचमा अवस्था जटिल देखिएपछि थप उपचारका लागि बुटवलस्थित आम्दा बाल अस्पतालमा पठाइएको नगरपालिकाले जनाएको छ ।
बालकको अवस्था गम्भीर रहेको जानकारी पाएलगत्तै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले तत्काल १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउँदै थप सहयोगका लागि सामाजिक सञ्जालमार्फत सबैलाई अपिल गरेका थिए । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाले सम्बन्धित चिकित्सकसँग समन्वय गरी समयमै उपचार सुनिश्चित गरेको स्वास्थ्य शाखा सहायक लक्ष्मण पौडेलले बताए ।
अर्घाखाँची जाने क्रममा बालकको अवस्था प्रत्यक्ष देखेपछि काठमाडौंका युवा समाजसेवी तुरुप संग्रौलाले पनि मानवीय आधारमा सक्दो आर्थिक सहयोग गरेका छन् । साथै, प्रमुख प्रशासकीय अधिकृत सापकोटाको अनुरोधमा शितगंगा नगरपालिका–३ निवासी समाजसेवी नारायण सिंह बेल्बासेले बालकको उपचारका लागि ४ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् ।
मानवीय कार्यमा सक्रिय भूमिका खेलेको भन्दै स्थानीय नागरिकहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको प्रशंसा गरेका छन् ।