२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दम्ती सवस्टेसन सञ्चालनको माग 

१५ करोडौंको लगानीमा निर्माण हुन लागेको सवस्टेसन अलपत्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष ११ गते २१:४०
Shares
दम्ती सवस्टेसन सञ्चालनको माग 

प्यूठान : प्यूठानको दम्ती सवस्टेसन तत्काल सञ्चालन गर्न माग गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई निवेदन बुझाइएको छ ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोडेर पुनः मूल्यांकन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै चालू आर्थिक वर्षभित्रै दम्ती सवस्टेसन सञ्चालनमा ल्याइने प्रतिबद्धता कार्यकारी निर्देशक शाक्यले व्यक्त गरेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । 

दम्ती सवस्टेसन सञ्चालनमा नआउँदा निरन्तर भोल्टेज अप–डाउनको समस्या झेल्दै आएका प्यूठानी जनताले विद्युतीय सामग्रीमा वार्षिक ५ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको छ ।
सवस्टेसन सञ्चालन भएमा विद्युत् आपूर्ति गुणस्तरीय हुनुका साथै जनताको आर्थिक भारसमेत कम हुने विश्वास व्यक्त गरिएको छ ।

झिमरुक गाउँपालिका अन्तर्गत चुधारा, कमदले, चिचिण्डे, खहरे, दुवाचौर, तुषारा उपल्लाकोट, काप्रे खोला, बादीकोट, ओखरकोट, मच्छी बजार लगायतका बस्तीहरूमा साँझपख लाइन डिम हुने, विद्युतिय सामग्री सञ्चालनमा समस्या हुने समस्याले किसान तथा सर्वसाधारण गम्भीर समस्यामा परेको विषय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई जानकारी गराउन गाउँपालिका उपाध्यक्ष पोख्रेल काठमाडौं पुगेका थिए ।

उक्त समस्याका कारण सिँचाइ, कृषि उपकरण सञ्चालन, व्यवसाय तथा दैनिक जीवनमा प्रत्यक्ष असर परेको भन्दै तत्काल ट्रान्सफर्मर थप गरी लाइन व्यवस्थापन गर्न माग गर्दै निवेदन बुझाइएको हो ।

निवेदन प्राप्तिपछि कार्यकारी निर्देशक शाक्यले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइ दुई–तीन महिनाभित्रै विद्युत् आपूर्ति सुधार गर्ने गरी काम हुने प्रतिबद्धता व्यक्त गरेका प्राधिकरण उच्च स्रोतको भनाइ छ ।

१५ करोड लगानीमा निर्माण भएको विद्युत् सव–स्टेसन अलपत्र परेपछि प्यूठान र रोल्पा जिल्लाका बासिन्दा मर्कामा परेका छन् । सव–स्टेसन सञ्चालनमा नआउँदा बारम्बार लाइन डिम हुने, विद्युत् अवरुद्ध हुने, उद्योग–व्यवसाय, कृषि सिँचाइ, स्वास्थ्य संस्था र सर्वसाधारणको दैनिकी प्रत्यक्ष रूपमा प्रभावित भएको छ । १५ करोड सरकारी लगानी भएर पनि समयमै काम सम्पन्न नहुनु गम्भीर लापरबाही भएको भन्दै स्थानीय नागरिक आक्रोशित छन् ।

ताजा खबर

सम्बन्धित खबर