२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बालविवाह अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

shivam cement
सन्तोष पौडेल
२०८२ पुष ११ गते २१:४४
Shares
बालविवाह अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–३ स्थित शान्तिबजारमा बालविवाह अन्त्यका लागि वकालत तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । गुड नेभर्स इन्टरनेशनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको उक्त कार्यक्रम सोनाहा विकास समाज, बर्दियामार्फत सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत आयोजना गरिएको हो । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, बडघर, प्रहरी, वन उपभोक्ता समिति, महिला सञ्जाल, दलित अगुवा, महिला स्वयंसेविका, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वडाध्यक्ष निर्मल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले बालविवाहले बालबालिका, परिवार र समग्र समाजमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । 

उनीहरूले घर, टोल, गाउँ तथा विद्यालयस्तरमा निरन्तर सचेतना र जागरण कार्यक्रम सञ्चालन गर्दै बालविवाहलाई निरुत्साहित गर्न समुदाय सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरूले ‘नगरौं बिहेको कुरा नहुँदै २० वर्ष पूरा’भन्ने सन्देशसहित बालअधिकार हनन् गर्ने अभ्यास, धारणा र व्यवहारविरुद्ध सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, घर, टोल, गाउँ र विद्यालयस्तरमा बालविवाह रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गरी समुदायलाई सक्रिय बनाउने योजना पनि सार्वजनिक गरिएको छ ।

बालविवाह हुन सक्ने सम्भावित अवस्थाप्रति सतर्क रहँदै त्यसको रोकथाममा जोड दिने र यस्ता घटना थाहा पाए कानुनी प्रक्रिया अपनाउने प्रतिबद्धता पनि सहभागीहरूले जनाएका छन् । कार्यक्रमले बालविवाहमुक्त समाज, विद्यालय, वडा तथा गाउँपालिका निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । सहभागीहरूले आफ्नो क्षमता, सिप र समय अनुसार बालविवाह अन्त्यका लागि निरन्तर पहल गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर