
अर्घाखाँची : शितगंगा नगरपालिकामा वन डढेलो जोखिम न्यूनीकरण तथा निर्णय–समर्थन प्रणाली सुदृढीकरणका लागि बहुपक्षीय छलफल बैठक सम्पन्न भएको छ । प्रकृतिमा आधारित स्थानीय समाधानमार्फत जमिन–जंगल–जलस्रोत प्रणाली पुनर्स्थापना गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा वन डढेलो व्यवस्थापनलाई स्थानीय शासन, जीविकोपार्जन र जलवायु अनुकूलनसँग जोडेर अघि बढाउने विषयमा छलफल गरिएको हो ।
नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं. ११ का अध्यक्ष नवराज भुसाल, वडा नं. १२ का अध्यक्ष चोपबहादुर घर्तिमगर, योजना अधिकृत नुमलाल खनाल, सूचना प्रविधि अधिकृत मघु पौडेललगायतले वन डढेलो नियन्त्रण र रोकथाममा स्थानीय सरकारको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गैडे, झलझले, मजुरे डाँडा, बेलघारी, डोहोटे तथा धिरीखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार शितगंगा नगर क्षेत्रमा ९१.४ प्रतिशत नागरिक काठ र घाँसका लागि वनमा निर्भर रहेका छन् । गाईवस्तु चरन, सिकार तथा वन खेतीजस्ता क्रियाकलापमा स्थानीय नागरिक संलग्न हुने गरेका छन् भने करिब ३० प्रतिशत नागरिक दैनिक रूपमा घाँस–दाउरा संकलनका लागि वन जाने गरेका छन् ।
वन डढेलो लाग्नुका मुख्य कारण चुरोट खाएर ठुटा जथाभावी फाल्नु, जानाजान आगो लगाउनु, अव्यवस्थित कटान, चोरी सिकार तथा छिमेकी वन क्षेत्रबाट फैलिने आगो रहेको सहभागीहरुले बताएका छन् ।
नगरपालिकाभित्र रहेका धिरीखोला, गैडे डोहोटे, गौरिशंकर, हरिओम तथा कपिलमानु सामुदायिक वनहरू अर्घाखाँची जिल्लाका अब्बल सामुदायिक वनका रूपमा परिचित छन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहहरूले वन डढेलो जोखिम नक्सांकन, प्रारम्भिक चेतावनी प्रणाली, आगो निभाउने उपकरण, फायरलाइन निर्माण, जलस्रोत संरक्षण तथा समुदाय–आधारित विपद् तयारीका लागि बाह्य सहयोग आवश्यक रहेको बताएका थिए ।
बैठकले डिभिजन वन कार्यालय, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार, गैरसरकारी संस्था, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको गैडे सामुदायिक वनका सचिव सीता बेल्वासेले जानकारी दिइन् ।
शितगंगा नगरपालिकामा सम्पन्न बहुपक्षीय छलफलले वन डढेलोलाई केवल वातावरणीय समस्या मात्र नभई सामाजिक, आर्थिक तथा शासकीय चुनौतीका रूपमा बुझ्दै समाधान खोज्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
प्रकृतिमा आधारित समाधान, स्थानीय नेतृत्व र सामुदायिक सहभागितामार्फत शितगंगा नगरपालिका वन संरक्षण तथा विपद् व्यवस्थापनमा उदाहरणीय स्थानीय तहको रूपमा अघि बढ्ने नगर प्रमुख छविलाल पौडेलको भनाइ छ ।