२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

हाँडेकोट बृहत् खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न

२ हजार घरधुरीमा धारा जडान तीव्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष १४ गते २२:१३
Shares
हाँडेकोट बृहत् खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालनमा रहेको हाँडेखोला–चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनाको निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ । एक घर–एक धारा निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको उक्त आयोजनाअन्तर्गत झन्डै २ हजार घरधुरीमा धारा जडानको काम तीव्र गतिमा भइरहेको छ ।

जिल्लाकै गौरवको आयोजनाका रूपमा रहेको यस खानेपानी आयोजनामा सोमबार लिफ्ट सिस्टमबाट पानी पम्पिङको सफल परीक्षण गरिएको छ । निर्माण कम्पनी बिडारी निर्माण सेवाले तोकिएको समयअगावै ९० प्रतिशत काम सम्पन्न गरेपछि एक समारोहबीच खानेपानी परीक्षण तथा मुहानको शिलान्यास गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भैरहवाको प्राविधिक सहयोगमा निर्माण कार्य तीव्र बनाएपछि छत्रदेव गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ (साविक चिदीका, बल्कोट, केरुङ्गा र छत्रगञ्ज गाविस) का करिब ९ हजार २ सय नागरिक लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका भैरहवा प्रमुख अतुलेश्वर कर्णले जानकारी दिए ।

खानेपानीको चरम अभाव झेल्दै आएका स्थानीय बासिन्दाले अब राहत पाउने छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । उनका अनुसार आयोजना सम्पन्न भएपछि सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको छत्रदेवमा खानेपानीको समस्या पूर्ण रूपमा समाधान हुनेछ ।

खानेपानी आयोजना साइट कार्यालय अर्घाखाँचीका नायब सुब्बा कृष्ण वर्माका अनुसार वडा नम्बर १ चिदीका देखि छत्रगञ्जसम्मका ५ वडाका २ हजारभन्दा बढी घरपरिवार यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक सहयोगमा सुरु गरिएको यस आयोजनाको कुल लागत ३० करोड २२ लाख रुपैयाँ रहेको छ ।

२०७९ साल पुस १ गते ठेक्का सम्झौता भएको आयोजना निर्माण सुरु भएको ३३ महिनामा ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर अतुलेश्वर कर्णले बताए ।

दुई चरणमा पम्पिङ हुने यस योजनाअन्तर्गत कलेक्टर वेलबाट ट्रिटमेन्ट प्लान्टसम्म पहिलो चरणको पम्पिङ र प्रशोधनपछि मौलीपोखरास्थित ६० घनमिटर क्षमताको ट्यांकीसम्म पानी पुर्‍याउने परीक्षण सफल भएको खानेपानी आयोजना सुपरभाइजर रञ्जित रानाले जानकारी दिए । त्यहाँबाट १ सय २० घनमिटर क्षमताको कोटस्थित ट्यांकी हुँदै पाँच वडाका विभिन्न स्थानमा बनेका ट्यांकीमा पानी वितरण गरिनेछ ।

झन्डै २ हजार घरधुरीमा धारा जडान हुने भएपछि उपभोक्ता उत्साहित भएको हाडेखोला–चिदीका बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका सचिव नारायणप्रसाद खनालले बताए ।

विगत लामो समयदेखि डीपीआर बने पनि कार्यान्वयन हुन नसकेको आयोजना अहिले तीव्र गतिमा अघि बढेपछि स्थानीयहरू खुशी भएको केरुङ्गाका युवा सञ्जय पाण्डेले बताए । आयोजना सम्पन्न भएपछि बिहानै उठेर घण्टौं पँधेरो धाउनुपर्ने बाध्यता हट्ने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

यद्यपि आयोजनाको बाँकी करिब १० प्रतिशत काम बजेट अभावका कारण ढिला भइरहेको निर्माण कम्पनी बिडारी निर्माण सेवाका सञ्चालक राजकुमार बिडारीले बताए । उनका अनुसार रकम उपलब्ध भएमा आयोजना छिट्टै सम्पन्न गर्ने तयारी रहेको छ ।

सम्बन्धित खबर