
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा बाल संरक्षणसँग सम्बन्धित विविध मुद्दाहरूमा केन्द्रित पालिकास्तरिय संवाद तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सोनाहा विकास समाजको आयोजनामा तथा गेरुवा गाउँपालिकाको समन्वय एवं गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्देश्य स्थानीय तहमा बाल अधिकार संरक्षण, प्रवर्धन र कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउँदै बालमैत्री नीति, कार्यक्रम तथा संरचनालाई सुदृढ बनाउनु रहेको छ ।
संवाद कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा पालिकास्तरिय बाल क्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले बाल हिंसा, बालश्रम, बालविवाह, उपेक्षा तथा दुव्र्यवहार, विद्यालयमा सुरक्षित र समावेशी वातावरणको आवश्यकता, बाल सहभागिताको प्रवद्र्धन तथा जोखिममा परेका बालबालिकाको संरक्षणका विषयमा आ–आफ्ना धारणा राखेका थिए । विशेषगरी बालबालिकाले प्रत्यक्ष रूपमा आफ्ना अनुभव, समस्या र अपेक्षाहरू प्रस्तुत गर्दै नीति निर्माण प्रक्रियामा बाल आवाजको महत्वलाई उजागर गरेका थिए ।
जनप्रतिनिधि तथा सरोकारवालाहरूले बाल संरक्षणका सवाललाई प्राथमिकतामा राख्दै पालिका स्तरमा प्रभावकारी योजना, पर्याप्त बजेट व्यवस्था र बहुपक्षीय समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए । साथै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले विद्यालयलाई बालमैत्री, सुरक्षित र अनुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बाल अधिकार सुनिश्चितता, संस्थागत सहकार्यको मजबुतीकरण तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै बालमैत्री गेरुवा निर्माणका लागि निरन्तर सहकार्य गर्ने संकल्प व्यक्त गरेका थिए । संवाद कार्यक्रमले गेरुवा गाउँपालिकामा बाल संरक्षण प्रणाली सुदृढीकरणतर्फ महत्वपूर्ण आधार तयार गरेको निष्कर्ष निकालिएको छ ।