२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १२:२४
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मेलन-२०८१ सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित प्राज्ञिक सम्मेलनको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । सम्मेलनलाई दुई सत्रमा विभाजन गरिएको थियो ।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आ-आफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउँदै व्यावसायिकरूपमा कर्मचारीहरूले राष्ट्रसेवा गरेका छन् कि छैनन् भन्नेबारे समीक्षा हुनुपर्ने बताए । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा प्रतिष्ठानहरू खोजअनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञानचक्षुका साथ अघि बढ्नुपर्ने बताए ।

उनले हाम्रो भूगोल हार्डवेयर भएजस्तै भाषा, साहित्य, संस्कृति, कला, दर्शन र ज्ञानविज्ञान सफ्टवेयर रहेको बताए । सफ्टवेयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थुल जस्तै हुने भएकाले 'ज्ञान खोज्न प्रज्ञा प्रतिष्ठान जाओैं' भन्ने भावना जागृत हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनका सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृति भनेको चिन्तन प्रणाली तथा सफ्टवयर रहेको बताउँदै संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुने धारणा राखे । तसर्थ कुनै पनि प्रतिगमनविरुद्व गणतान्त्रिक प्राज्ञिक संस्कृतिलाई दह्रोसँग स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले विद्यमान मर्यादाक्रमको तोडफोड गर्नु न्यायोचित नभएको बताए । सो अवसरमा उनले प्रमुख अतिथि मन्त्री पाण्डेलाई प्रज्ञा प्रतिष्ठानका विभिन्न प्रकाशनहरू उपहारस्वरूप प्रदान गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समसामयिक भावधारासहितको प्राज्ञिक संस्कृति, प्रतिष्ठानबीचको आपसी सहकार्य र सद्भाव कायम गर्दै मर्यादाक्रम तोकिनुपर्नेमा जोड दिए ।

सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले प्रादेशिक, पालिका र वडासम्मै प्रज्ञा प्रतिष्ठान गठन भइरहेको बताए । उनले ती प्रज्ञा प्रतिष्ठान र संघीय वा केन्द्रीय प्रज्ञा प्रतिष्ठानबीचको भिन्नता प्रष्ट हुनुपर्ने बताए ।

नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृति मानवजातिको ढुकढुकी रहेको बताउँदै यसमा आएका विकृति र विसंगतिले समाजलाई लथालिङ्ग पार्ने भय रहेको बताए । त्यसैले समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा प्रतिष्ठानहरूमा निहित हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीन वटै प्रज्ञा प्रतिष्ठानबीच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए । उनले त्यसविरुद्ध नियमन वा नियन्त्रण गर्ने संयन्त्र र अधिकार प्रतिष्ठानमै रहनुपर्ने बताए ।

सम्मेलनका उद्घोषक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले आ-आफ्ना प्रज्ञा प्रतिष्ठानको परिचय, उद्देश्य, लक्ष्य, भाबी योजना र समस्याका बारेमा धारणा प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, डा.कौशिला रिसाल, अमर न्यौपाने तथा प्राज्ञसभा सदस्य चेतनाथ धमला, धर्मेश पोखरेल, पञ्चकुमारी परियार र शशिराम कार्कीले धारणा राखेका थिए । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल, डक्टर किरात, हिसन समाल तथा प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलले पनि आ-आफ्ना धारणा व्यक्त गरेका थिए । ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय बान्तवा, प्रदीप अधिकारी, दिनेश महतो तथा प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदीप शाक्य, नरेन्द्रप्रसाद भण्डारी र चन्द्र रानाहान्छाले पनि आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

प्राज्ञिक सम्मेलनबाट प्राप्त सुझावका आधारमा ११ बुँदे घोषणापत्र जारी गरिएको छ । 

११ बुँदे घोषणापत्र :

१. तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीन वटै प्रज्ञा प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने ।

२. प्रदेश स्तरका प्रज्ञा प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने । 

३. संघ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने । 

४. सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्यांकन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने । 

५. गण्डकी प्रज्ञा प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने । 

६. प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने । 

७. नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने । 

८. नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने ।

९. प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने । 

१०. पुस्तक, पत्रपत्रिका र संगीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सारलगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने । 

११. नेपाली भाषा, साहित्य, संगीत, नाटक, ललितकलाको अभिलेख तथा संग्रहालय स्थापना गर्ने । 

सबै विश्वविद्यालयमा कम्तीमा एक एक वटा ललितकला, संगीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विमर्शसहित घोषणापत्र जारी गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise