
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर तथा शितगंगा नगरपालिका–२ फलाचौरमा गुरुङ समुदायको महान पर्व तमु ल्होसार विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसारले समुदायको मौलिक पहिचान, संस्कृति र सामाजिक एकतालाई मजबुत बनाउने विश्वास लिइन्छ ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं. १० का अध्यक्ष खगेश्वर पन्थीले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै गुरुङ समुदायको कला, संस्कृति र परम्पराको संरक्षण गरी भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
उनले यस्ता पर्वहरूले समाजमा आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई बलियो बनाउने बताए ।
गुरुङ (तमु) समाज अर्घाखाँचीका जिल्ला अध्यक्ष डिलबहादुर गुरुङले गुरुङ समुदायको पहिचान ल्होसार, भाषा, भेषभूषा र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै संघ–संस्थामार्फत संस्कृति जगेर्ना गर्ने अभियानलाई निरन्तर अगाडि बढाइने बताए । उनले युवा पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान सचिव हृदय भुसाल, धन्चौर अस्थायी प्रहरी चौकीका वरिष्ठ हल्दार स्वस्तिक गौडेल, सरस्वती आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, पूर्व प्रधानाध्यापक तथा सामाजिक व्यक्तित्व तारापती भट्टराई, सामाजिक व्यक्तित्व कमल उचाइँ, धन्चौर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तिलक भट्टराई, पश्चिम नेपाल बस व्यवसायी कर्मचारी नारायण बञ्जाडे, समाजसेवी बसन्त बेल्वासेलगायतले शुभकामना मन्तव्य राख्दै गुरुङ जातिको सामाजिक तथा सांस्कृतिक योगदानको चर्चा गरेका थिए ।
तमु ल्होसार केवल पर्व मात्र नभइ गुरुङ समुदायको इतिहास, संस्कृति र जीवन पद्धतिसँग जोडिएको साझा पहिचान भएको आयोजक भोजन् गुरुङले बताए । उनले गुरुङ समाजको एकता र सांस्कृतिक संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा गुरुङ समुदायको मौलिक पहिचान झल्काउने घाटु नाचलगायत परम्परागत कला, संस्कृति र संस्कार झल्काउने विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो । साथै विभिन्न परिकारहरूको स्वाद लिँदै सहभागीहरूबीच आपसी मेलमिलाप र उत्साहपूर्ण वातावरण देखिएको थियो ।
कार्यक्रम तमु समाज आयोजक संस्थाका अध्यक्ष शिवलाल गुरुङको अध्यक्षता, हिमा गुरुङको स्वागत मन्तव्य तथा भोजन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।