२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

डमरु दहको संरक्षण, व्यवस्थापन र दिगो विकासबारे बृहत् छलफल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष १६ गते २१:२४
Shares
डमरु दहको संरक्षण, व्यवस्थापन र दिगो विकासबारे बृहत् छलफल

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडास्थित प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल डमरु (ठाडा) दह को संरक्षण, व्यवस्थापन र दिगो विकासका विषयमा सरोकारवालाबीच बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको डमरु दहको समग्र विकासलाई व्यवस्थित र दीगो बनाउन नगरपालिकाको पहलमा उक्त छलफल आयोजना गरिएको हो । धार्मिक र पर्यटकीय दुवै दृष्टिले महत्वपूर्ण मानिने यो दहको संरक्षणमा सबै पक्षको सहभागिता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । 

पूर्व–पश्चिम राजमार्ग हुँदै सन्धिखर्क जाने क्रममा कपिलवस्तुको गोरुसिङ्गेबाट उत्तरतर्फ करिब ३३ किलोमिटर दूरीमा पर्ने डमरु दह समुद्र सतहबाट करिब ३८०० फिट उचाइमा अवस्थित छ । 

सडकको बायाँ किनारमै रहेको यो दह सुन्दर र मनमोहक भएकाले पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

किम्बदन्ती अनुसार त्रेता युगमा भगवान् श्रीराम, सीता र लक्ष्मण सिध्देश्वर दर्शनका लागि नर्तनाचल पर्वत जाँदा यस दहमा रातो, सेतो र नीलो कमल फुलेको देखिएको उल्लेख छ । सीताले रातो कमल टिप्न खोज्दा श्रीरामले लक्ष्मणलाई रोक्नुभएको प्रसंग स्थानीय जनविश्वासमा आज पनि जीवित छ ।

डमरु दहको पुनर्निर्माण तथा व्यवस्थापनका लागि सार्वजनिक सूचना आह्वानमार्फत तोकिएका मापदण्ड र शर्तका आधारमा सञ्चालन गर्ने निर्णय गरिएको शितगंगा नगरप्रमुख छविलाल पौडेलले बताए । उनले पारदर्शिता, सहभागिता र दिगोपनालाई प्राथमिकतामा राखेर दहको विकास गरिने प्रतिबद्धता व्यक्त गरे । 

संघीय सरकारको पूँजीगत विशेष अनुदान अन्तर्गत प्राप्त ९० लाख रुपैयाँ बजेटबाट डमरु दह बहुउद्देश्यीय सिँचाइ योजना निर्माण गर्ने निर्णय पनि छलफलबाट गरिएको छ । उक्त योजनाअन्तर्गत वडा नम्बर २ स्थित सितापुर सुपादेउराली मन्दिर आसपासको मुहानबाट पानी ल्याई डमरु दहमा मिसाउने गरी लागत अनुमान तयार गरी खरिद प्रक्रियामा लैजाने तयारी भइरहेको नगरउपप्रमुख गीता भाटले जानकारी दिइन् ।

कार्यक्रममा सरोकारवालाहरूले डमरु दहलाई धार्मिक, पर्यावरणीय, पर्यटकीय तथा स्थानीय जीवनयापनसँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा व्याख्या गर्दै यसको संरक्षण र दीगो विकासमा नगरपालिका सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

डमरु दहको भित्री भागमा सुवर्णमय आठ वटा कमलका फूल रहेको जनविश्वास छ, जुन भक्तजनहरूले कहिलेकाहीँ रातिको समयमा देख्न सकिने विश्वास गरिन्छ । दहको उत्तरतर्फ वाराही मन्दिर, स्वागतद्वार तथा फूलबगैंचाले यस क्षेत्रको सौन्दर्य अझ बढाएको छ ।

नगरप्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख गीता भाट, नेपाल सरकारका उपसचिव राजनकुमार बिसी, वडा नम्बर ३ का अध्यक्ष चिन्तराज अधिकारी, वडा नम्बर ४ का अध्यक्ष दामोदर अधिकारी, उद्योग वाणिज्य संघका वसन्त श्रेष्ठ, पत्रकार अराज बेल्वासे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर