२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जनताका सुझाव बुझेर काम गर्दै सन्धिखर्क नगरपालिका

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष १७ गते २१:३४
Shares
जनताका सुझाव बुझेर काम गर्दै सन्धिखर्क नगरपालिका

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तीन वर्षअघि कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट नतिजा हासिल गर्दै नेपालकै प्रथम नगरपालिका घोषित भयो । त्यसपछि नगरपालिकाले विकास–निर्माणका कामहरूलाई तीव्रता दिँदै आएको छ ।

सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने स्पष्ट नीतिअनुसार नगरपालिकाले नागरिकमैत्री सेवा प्रवाह गर्न थालेको हो । नगरपालिकाले जनताले प्रत्यक्ष देख्ने र बुझ्ने खालका कामहरूलाई प्राथमिकतामा राखेको स्थानीयवासीहरू बताउँछन् । 

स्वास्थ्य, शिक्षा र रोजगारीप्रति संवेदनशील बन्दै सेवा प्रवाह र विकास निर्माणका कामहरू द्रुत गतिमा अघि बढाइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले नागरिकको स्वास्थ्यलाई विशेष केन्द्रमा राख्दै सबै वडामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । दन्त शिविर, आँखा शिविर, पेट तथा प्यान्क्रियाज रोगसम्बन्धी शिविरलगायत विभिन्न स्वास्थ्य शिविरमार्फत नागरिकहरूको उपचार हुँदै आएको छ । त्यसैगरी, सडक पिच, बजार क्षेत्रमा सडक बत्ती तथा हाईमास्ट लाइट जडान, सुपादेउरालीमा सीसीटीभी जडान, वडा कार्यालय भवन र स्वास्थ्य चौकी निर्माण, सार्वजनिक सम्पत्तिको संरक्षण, सडक चौडा गर्ने, पर्यटकीय क्षेत्र संरक्षण, कृषकलाई उत्पादनको आधारमा अनुदान, सीपमूलक तालिम सञ्चालनलगायतका कामहरू भइरहेका छन् । महिला, दलित, जनजाति, अपाङ्ग, जेष्ठ नागरिकलगायत लक्षित वर्गलाई घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिए ।

नगरपालिकाले सबै वडामा समान रूपमा विकास गर्ने नीति अपनाएको उनको भनाइ छ । उपप्रमुख मिश्रा आचार्यका अनुसार नगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिम, कृषि, पशुपालन तथा युवालक्षित कार्यक्रमबाट हजारौं नगरवासी लाभान्वित भएका छन् । जेष्ठ नागरिकलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण, कम्बल वितरण, अपांगता परिचयपत्र वितरण तथा एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रवाह गरिएको वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालले बताइन् । वडा–वडाबाटै राजस्व संकलन तथा अधिकांश सेवा उपलब्ध गराइएपछि नगरवासीहरू सन्तुष्ट भएका छन् । 

नगरपालिकाले उद्देश्यविपरीत सञ्चालन भएका तथा लामो समयदेखि निष्क्रिय सहकारी संस्थाहरूलाई नियमन गर्न थालेपछि सहकारीहरू समेत सचेत बनेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । 

सेवाग्राहीलाई मुस्कानसहित छिटो सेवा दिने अभ्यास सुरु भएपछि कार्यालय पुगेका नागरिकले पाँच मिनेटभन्दा बढी पर्खनु नपरेको सन्धिखर्क–६ का स्थानीय प्रकाश महत्राले बताए । 

नगरपालिकाले अपांगता भएका नागरिकलाई घरमै सामग्री वितरण, नागरिकका गुनासो तथा सुझाव संकलन, कृषक र जेष्ठ नागरिकसँग छलफल, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै सम्मान, भ्रष्टाचार नियन्त्रण तथा बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको योजना अधिकृत दिलिप केसीले जानकारी दिए । 

योजनाको अनुगमन निरीक्षणमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरू सक्रिय रूपमा संलग्न रहेको राजस्व शाखा प्रमुख मुक्ति राम खनालले बताए । 

सम्बन्धित खबर