
कपिलवस्तु : नेपाली युवा संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता र निर्वाचित राष्ट्रपति दम्पत्तीमाथि गरिएको आक्रमणप्रति घोर आपत्ति जनाएका छन् ।
योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष पुष्प ओली, युवा संघका संयोजक रोशन थापा र नेपाल समाजवादी युवा संघका इन्चार्ज विजय खड्काले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण व्यवहार र अन्तर्राष्ट्रिय कानूनको अवहेलनाको प्रमाण भएको बताएका छन् । विज्ञप्तिमा यस्तो एकपक्षीय तथा हस्तक्षेपकारी कार्यले संयुक्त राष्ट्रसंघको वडापत्र, अन्तर्राष्ट्रिय कानून र राष्ट्रहरूबीचको समानान्तर सह–अस्तित्वको सिद्धान्तको उल्लंघन गरेको उल्लेख गरिएको छ ।
नेपाली युवाहरूले भेनेजुएलाका जनताको आत्मनिर्णय र स्वाधीनताप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी गतिविधि तुरुन्त रोक्न माग गरेका छन् । साथै, अन्तर्राष्ट्रिय समुदायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा युवा संगठनहरूले साम्राज्यवाद, युद्ध र बाह्य हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिन र उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्ध संघर्षलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
