
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका चार वर्षअघि कार्यसम्पादन मूल्यांकनमा देशकै सर्वकृष्ट नतिजा प्राप्त गर्दै नेपालको तृतीय उत्कृष्ट गाउँपालिका घोषित भएको थियो । गाउँपालिकाले प्राप्त गरेको सो विरासतलाई जोगाइराख्न अहिले सोहीअनुसार विकास निर्माणका कामहरू जनप्रतिनिधि र कर्मचारीहरूले निरन्तरता दिँदै आएका छन् ।
सिंहदरबारको अधिकार गाउँमा पुर्याउने स्पष्ट नीति अनुसार गाउँपालिकाले नागरिकमैत्री काम अन्तर्गत पुस २२ गते वडा नम्बर ८ को कार्यालय, २३ गते वडा नम्बर ३ को कार्यालय, २४ गते वडा नम्बर २ को कार्यालय र २५ गते वडा नम्बर १ को कार्यालयमा नागरिकमैत्री घुम्ती सेवा सञ्चालन गरी नागरिकलाई घरदैलोमै सेवा दिने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिए ।
जनताले स्पष्ट देख्ने र बुझ्ने गरी गाउँपालिकाले काम गर्ने नीतिअनुसार अहिले ग्रामीण अल्ट्रासाउन्ड सेवा अन्तर्गत सुत्केरी हुने गर्भवती महिलाहरूको भिडियो एक्स–रे सेवा वडामै पुगेर निरन्तर दिइँदै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले बताए ।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी छत्रदेववासी नागरिकहरूको स्वास्थ्य, शिक्षा, रोजगार र मुस्कानसहितको सेवाप्रति संवेदनशील बन्दै गएको छत्रदेव–४ का स्थानीय भानु पराजुलीले बताए ।
पालिकाभित्र सेवा प्रवाह तथा विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउँदै नागरिकहरूको स्वास्थ्य, शिक्षा र रोजगारमा समेत संवेदनशील हुँदै नागरिकको दैलोमै सरकार सधैं उत्तरदायी छ भन्ने जनविश्वास दिलाउन विभिन्न खालका रचनात्मक कामहरू सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।
नागरिकहरूको स्वास्थ्यलाई विशेष केन्द्रमा राख्दै सबै वडाका जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले प्रत्येक वर्ष निःशुल्क विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छत्रदेव गाउँपालिकाले हाल गर्भवती महिलाहरूको भिडियो एक्स–रे सेवा गाउँटोलमै पुगेर सञ्चालन गर्दै आएको छ । साथै अधिकांश स्थानमा सडक पिच गर्ने, बजार क्षेत्रमा सडक बत्ती जडान गरी झिलिमिली बनाउने, हाईमास्ट लाइट जडान गर्ने प्रक्रिया अघि बढाउने, चोरी नियन्त्रणका लागि चोक–चोकमा सिसिटिभी जडान गर्ने, वडा कार्यालयका भवनहरू धमाधम निर्माण गर्ने, स्वास्थ्य चौकी निर्माण गर्ने जस्ता जनचाहनाअनुसारका कामहरू भइरहेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिए ।
त्यसैगरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, गाउँका साना बजार क्षेत्रका सडक चौडा पार्ने, पर्यटकीय क्षेत्रको संरक्षण गर्ने, किसानलाई उत्पादनको आधारमा अनुदान दिने, विभिन्न प्रकारका सिपमूलक तालिम प्रदान गर्ने, महिला, जनजाति, आदिवासी, अपाङ्ग र जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने, गाउँपालिकाभित्र हरियाली बढाउने तथा सबै वडामा एकरूपताका साथ विकास गर्ने कामहरू भइरहेको जनाइएको छ ।
छत्रदेव गाउँपालिकाका सबै वडामा सञ्चालन गरिएका विभिन्न प्रकारका सिपमूलक तालिम, दलित विशेष, महिला, बालबालिका विशेष, जनजाति, पिछडिएको वर्गका लागि तालिम, युवा तथा किशोर–किशोरी तालिम, कृषि, भेटेरिनरी तथा पशु विशेष कार्यक्रमहरूबाट हजारौं छत्रदेववासीले सेवा लिन सफल भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
छत्रदेवले वडाका जेष्ठ नागरिकलाई घर–घरमा पुगेर सेवा प्रदान गर्दै आएको छ । उनीहरूको सुरक्षा भत्ता कार्ड नवीकरण, ब्लांकेट वितरण, हर्लिक्स वितरण, अपांग परिचयपत्रसमेत घरमै पुर्याइदिने कार्य गरिएको छ । साथै ८ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र वितरणजस्ता महत्वपूर्ण काम भएपछि छत्रदेववासी खुसी भएको प्रशासन प्रमुख शिव बर्माले बताए ।
गाउँपालिकाले उद्देश्यविपरीत सञ्चालन भएका र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई नियमन गर्न सुरु गरेपछि सहकारीहरू सचेत बनेको र अहिले राम्रो काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले मध्यान्हलाई जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत सहकारी रजिस्ट्रार हुने व्यवस्था रहेको र लगातार दुई आर्थिक वर्षसम्म कारोबार नगरेका तथा विनियम विपरीत कार्य गर्ने सहकारी संस्थाहरूलाई नियमन गरिएको उनको भनाइ छ ।
देश–विदेश बुझेका युवा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल आएपछि मुस्कानसहितको सेवा प्रवाह, सेवाग्राही कार्यालय पुगेको पाँच मिनेटभन्दा बढी कुर्न नपर्ने व्यवस्था गरिएको चिदिका निवासी स्माइल मियाले बताए ।
गाउँपालिकाले अपांगता भएका नागरिकलाई घरमै पुगेर आवश्यक सामग्री वितरण गर्ने, नागरिकका गुनासो तथा सुझाव संकलन गर्न पुस २९ गते सार्वजनिक सुनुवाइ आयोजना गर्ने, कृषकसँग छलफल गर्ने, जेष्ठ नागरिकसँग छलफल गर्ने, ८० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, बैशाखभित्र सबै योजना सम्पन्न गर्न ताकेता गर्ने जस्ता कामहरू भइरहेको उपाध्यक्ष मनि पन्थीले बताए । योजनाको अनुगमन निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष पन्थी, प्रमुख प्रशासकीय अधिकृत खनाल, प्राविधिक इन्जिनियर साजन पाण्डे, योजना प्रमुख शिव बर्मा तथा जनप्रतिनिधि र विभिन्न शाखाका प्रमुख कर्मचारीहरू नियमित रूपमा अनुगमनमा जाने गरेका छन् । आगामी दिनमा गाउँपालिकामा पालिका प्रहरी नियुक्त गर्ने, रिक्त रहेका प्राविधिक कर्मचारी पदपूर्ति गर्ने, प्रशासकीय भवन सम्पन्न गरी जनतालाई थप सहज सेवा दिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।