
काठमाडौं : विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ रश्मि असफलका गजलमा पुस २७ गते झापाको बिर्तामोडमा गुञ्जिने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजना तथा अनाममण्डली र सप्तक संगीत विद्यालय, बिर्तामोडको सहआयोजनामा रश्मि असफलका ५ वटा गजल प्रस्तुत गरिने आयोजक अनेगमका अध्यक्ष घनेन्द्र ओझाले जानकारी दिए । कार्यक्रमको नाम 'रश्मि गजल गुञ्जन' राखिएको छ ।
गजल अभियन्ता कवि, समालोचक घनेन्द्र ओझासँग 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियान घोषणा गरेका श्रेष्ठले सातै प्रदेशमा प्रत्यक्ष गजल गायन अभियान सञ्चालन गरिएको र झापाको यो कार्यक्रम कोसी प्रदेशस्तरीय हुने जानकारी दिए ।
उनले भने, 'यसअघि बाग्मती र गण्डकीमा गायन भइसकेको छ । अब कोसी र मधेसमा गर्दै छौं । यसपछि लुम्बिनीमा पनि यसै वर्ष गर्ने सोचमा छौं ।'
कर्णाली र सुदूरपश्चिममा आगामी वर्ष गजल गायन गरिने उनले बताए ।