२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ढाकावाङ्गमा सरकारी टोली, विपन्न मनिराम नेपालीलाई राहत

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष २२ गते २०:५९
Shares
ढाकावाङ्गमा सरकारी टोली, विपन्न मनिराम नेपालीलाई राहत

अर्घाखाँची : अर्घाखाँचीका एक विपन्न परिवारलाई जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालासहितको सरकारी टोलीले सहयोग गरेको छ । 

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा घरमा बिजुली बत्तीसमेत नभएको, कमाउने सदस्य कोही नरहेको र मागेर गाँस गुजारा गर्दै आएको विषयमा समाचार प्रकाशित भएपछि सरोकारवालाहरुले सहयोग गरेका हुन् । 

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख  कोइराला, भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसी, जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारसहितको टोली भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग, पोख्राखर्कस्थित पीडित मनिराम नेपाली (जुठे) को घरमा पुगेर वास्तविक अवस्था बुझेपछि थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

टोलीले पीडितको पारिवारिक, आर्थिक, स्वास्थ्य तथा शैक्षिक अवस्थाबारे जानकारी लिँदै तत्कालीन राहतस्वरूप आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री हस्तान्तरण समेत गरेको र थप सहयोग तथा दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख कोइरालाले विपन्न नेपालीको स्वास्थ्य अवस्थाका बारेमा बुझेर सर्वप्रथम स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गरेका थिए । उनले आवश्यक उपचार, सामाजिक सुरक्षा तथा अन्य सहयोगका लागि जिल्ला समन्वय समितिबाट सहजीकरण गरिने स्पष्ट पारेको स्थानीय जनप्रतिनिधि गोपाल खनालले बताए ।

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख थापाले पीडित परिवारका बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई नियमित विद्यालय जाने वातावरण नगरपालिकाले निर्माण गर्ने बताए । उनले विद्यालय शिक्षाका लागि कुनै शुल्क नलाग्ने र आवश्यक शैक्षिक सामग्री तथा सहयोग नगरपालिकामार्फत उपलब्ध गराइने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले राज्यका निकायहरू पीडित नागरिकका समस्या सुन्न र समाधान गर्न सधैं तयार रहेको बताउँदै कानुनी, प्रशासनिक तथा सामाजिक सुरक्षाका पक्षमा आवश्यक पहल गरिने उल्लेख गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले पनि आवश्यक सुरक्षात्मक तथा मानवीय सहयोगमा प्रहरी प्रशासन सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

टोलीले नेपालीका भाइ सुमन्त बहादुर नेपालीको नाममा रहेको खेतीयोग्य जमिन बन्धकीमा रहेको विषयमा पनि चासो व्यक्त गरेको छ । उक्त बन्धकी जमिन फिर्ता गराइ दाइ मनिरामलाई भोगचलन गर्न दिने गरी प्रक्रिया अघि बढाइएको जानकारी गराइएको छ ।

सम्बन्धित खबर