
सल्यान : सल्यानका किसान पछिल्लो समय व्यवसायिक रूपमा रिट्ठा खेतीतर्फ आकर्षित हुन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा रिट्ठाको माग बढ्दै गएपछि यहाँका किसानहरूले यसलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा लिन थालेका हुन् ।
रुखो तथा सुख्खा जमिनमा पनि सजिलै उत्पादन हुने भएकाले किसानहरू रिट्ठा खेतीतर्फ आकर्षित भएको त्रिवेणी गाउँपालिका–१, काभ्राका किसान गणेशबहादुर वलीले बताए । उनका अनुसार बाँझो बारी, पाखा–पखेरा र वन क्षेत्रमा पाइने रिट्ठा पछिल्लो समय राम्रो आम्दानी दिने बाली बन्दै गएको छ । “पहिले बारीमा उम्रिएका रिट्ठाको महत्व नबुझ्दा त्यत्तिकै खेर जाने गर्थ्यो,” उनले भने, “अहिले बजारको माग र राम्रो आम्दानी देखेपछि व्यवसायिक खेती सुरु गरेका हौं ।” वलीले यस वर्ष २० क्विन्टल रिट्ठा बिक्री गरेको जानकारी दिए ।
काभ्राकै किसान पुष्पाकुमारी वलीले पनि रिट्ठाको महत्व बुझेपछि यसको व्यवसाय विस्तार गरेकी छन् । उनले यस वर्ष १५ क्विन्टल रिट्ठा बिक्री गरेको बताइन् ।
त्रिवेणी गाउँपालिकाको काभ्रा क्षेत्रका विभिन्न स्थानमा हरेक वर्ष व्यवसायिक रूपमा रिट्ठा खेती बढ्दै गएको किसान लालबहादुर नेपालीले बताए । उनका अनुसार किसानहरूले यसबाट नगदे आम्दानी गर्न थालेका छन् । अर्का किसान उमे घर्तीले रिट्ठालाई नगदे बालीका रूपमा सहजै बिक्री गर्न सकिने भएकाले आर्थिक आम्दानी भइरहेको बताए ।
सल्यानमा उत्पादन भएको रिट्ठा नेपालगञ्ज हुँदै भारत र युरोपका विभिन्न देशमा निकासी हुँदै आएको छ । गाउँ–गाउँसम्म सडक पहुँच विस्तार भएपछि किसानले उत्पादन गरेको रिट्ठा सहजै बजारसम्म पुग्ने गरेको स्थानीय व्यापारी चुडामणि पौडेलले बताए । उनका अनुसार स्थानीय व्यापारीहरूले रिट्ठा संकलन र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वनबाट २ लाख ६५ हजार ७ सय केजी र निजी आवादी वनबाट १ लाख ३१ हजार ८ सय केजी रिट्ठा उत्पादन भई निकासी भएको थियो । यस आर्थिक वर्षमा हालसम्म २ लाख ८९ हजार केजी रिट्ठा संकलनका लागि इजाजत दिइएकाले उत्पादन र निकासी अझ बढ्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले बताए ।
रिट्ठा खेती प्रवर्धनका लागि डिभिजन वन कार्यालय सल्यान र वनस्पति अनुसन्धान केन्द्रले नर्सरीमार्फत बिरुवा उत्पादन गरी किसानलाई उपलब्ध गराउँदै आएको पनि खड्काले जानकारी दिए । साथै सामुदायिक वन क्षेत्रभित्र समेत व्यवसायिक रिट्ठा खेती गरी आम्दानी बढाउन किसानलाई प्रोत्साहन गरिएको उनले बताए ।