२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

'सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्न पर्याप्त रकम विनियोजन गर्छौं'

Nada
२०८३ मंसिर ११ गते १४:२५
Shares
'सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्न पर्याप्त रकम विनियोजन गर्छौं'

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताएका छन् ।

नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले यस वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

आगामी वर्षहरूमा समेत सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उनले बताए । सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्ने उनको भनाइ छ ।

आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिने उनले बताए । वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गरे ।

उनकाअनुसार अत्यन्त न्युन आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्छ भने योगदान गर्नसक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्छ । यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख गरिएको उनले बताए ।

सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टीको नीतिअनुसार सरकारले आफ्ना प्रतिवद्धता कार्यान्वयन गर्दै जाने उनको भनाइ छ । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने उनले बताए । विभिन्न मुलुकमा भएका प्रभाव मूल्यांकनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा, विशेषगरी साना तथा मझौला उद्यममा समेत उत्पादकत्व वृद्धि हुने देखाएको उनको भनाइ छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर