
अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतम कृषिकर्ममा व्यस्त छन् । गौतमको दिनचर्या आजभोलि खेतबारीमा बित्ने गरेको छ । भाषण होइन कर्ममा विश्वास गर्ने गौतमले ‘गौतम कृषि तथा पोल्टी फार्म’ सञ्चालन गरेर व्यवसायी कृषिकर्म गरिरहेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सचिवसमेत रहेका गौतमले २०६८ सालदेखि निरन्तर कृषिकर्म गरिरहेका छन् । गौतम अहिले आफ्नो बगानमा १२० वटा सुन्तताको बोटमा सुन्तला फलेको बताउँछन् । उनले भने, ‘गत वर्ष तीन लाखको सुन्तला बिक्री भयो । अहिले बगानमा १२० बोटमा सुन्तला फलेको छ । यसपटक आम्दानी बढ्ने देखिन्छ । सुन्तला बिरुवा थपेको छु ।’
बगानबाट प्रतिकिलो ७० देखि ८० रुपैयाँमा सुन्तला बिक्री भइहरेको छ । गौतमले बागनमा सुन्तलाको बोट थप्दै गएका छन् । उनको लक्ष्य पाँच वर्षपछि ५० लाखभन्दा बढीको सुन्तला उत्पादन गर्ने रहेको छ ।
उनले ‘गौतम कृषि फार्म’मा एक करोड ५० लाखभन्दा बढी लगानी गरेका छन् । ४० लाख रुपैयाँ सहुलियत ब्याजमा बंैकबाट ऋण लिएको उनको बताए । ‘गौतम कृषि फार्म’मा बोइलर तथा लेयर्स कुखुरा, बोयर बाख्रा, गाई र भैंसीसमेत पालन गरेका छन् । ‘गौतम कृषि फार्म’बाट मौसमी फलफूल, अन्डा, मासु खसी तथा दूधसमेत बिक्री हुने गरेको छ । फार्मबाट गौतमले मासिक २ लाखजति बचत भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘नियमित रूपमा तीनजना कामदार छन् । केही मौसमी कामदारसमेतलाई तलब दिएर मासिक सरदर २ लाख बचत हुन्छ ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पाणिनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका गौतम पाणिनिको विकासका लागि कृषिमा व्यवसायीकरण आवश्यक रहेको बताउँछन् । पछिल्लो समय कृषिबाट राम्रो लाभ लिन सक्ने वातावरण बन्दै गएकाले स्थानीयतहले युवालाई व्यावसायिक कृषिमा लाग्नका प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।
उनले भने, ‘राजनीतिसँग कृषिकर्म गर्दा जनतामा सकारात्मक सन्देश जान्छ । अनि मात्र कृषि क्रान्ति सफल हुन्छ ।’ स्थानीय तहको नेतृत्व गर्दा आफूले कृषि क्षेत्रको विकासमा जोड दिएको उनले बताए । गौतमले भने, ‘हाम्रो गाउँपालिकामा कृषिमा किसानसँगै युवा व्यवसायीको आकर्षण बढ्न थालेको छ ।
राजनीति र कृषि उत्पादन सँगसँगै अघि बढाउने हो भने नेपालले कृषिमा फड्को मार्ने सजिलो हुने उनको भनाइ छ । कृषि अनुदानबाट साना र मध्यम किसानले फाइदा लिन नसकेको उनको भनाइ छ । उनले भने, ‘कृषिको समस्या प्राविधिकभन्दा बढी अर्थनीतिसँग सम्बन्धित छ । यस विषयमा हामीले किसानसँग बहस गर्न सकेका छैनौं । सोही कारण युवा पलायन भइरहेका छन् ।’
उनले भने, ‘अहिले पहाडको जमिन बाँझिँदै गएको छ । तर युवा जनशक्ति अर्काको देशमा कामको खोजीमा हिँडिरहेको छ । कृषि युवा आकर्षण बढाउने हो भने कृषिमा हामी आत्मनिर्भर हुन सक्छौं । कृषिलाई व्यवसायीकरण गर्ने हो भने खाडी मुलुक जानेले भन्दा गाँउमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ । कृषि क्षेत्रलाई बुढाबुुढीले कहिलेसम्म थेग्ने ?’
कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, औद्योगीकरण गर्दै कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादक्तवसँगै रोजगारीका अवसर सिर्जना गर्न दीर्घकालीन नीति संघ, प्रदेश र स्थानीय सरकारले एक भएर बनाउनुपर्ने उनको भनाइ छ । गौतम भन्छन्, ‘कृषिमा राजनीतिक तहबाटै क्रान्ति हुनुपर्छ । कृषिमा आधारित उद्योग सञ्चालन गर्नुपर्छ । नेपालमा सबै किसिमको हावापानी पाइने भएकाले यहाँ सबै किसिमका कृषि उत्पादन हुन्छ ।’
पाणिनिमा धान, गहुँ, कोदो, मकैभन्दा सुन्तलाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि अरू खेती गर्ने छाडेर सुन्तला खेती गर्नेको संख्या बढिरहेको उनी बताउँछन् । गाउँबाट गत वर्ष एक करोडभन्दा बढी सुन्तला बिक्री भएको थियो । यो वर्ष अझै बढ्ने अपेक्षा गरिएको छ ।