
१
ढकमक्क फूलले पनि झर्नै पर्छ हजुर
जस्तोसुकै जँघार पनि तर्नै पर्छ हजुर
दुःख, कष्ट सामना गर्ने साहस बटुल्दै जानु,
आलिसानमा बस्नेले पनि मर्नै पर्छ हजुर ।
२
केही पाठ सिकाउँछ उकालीले, केही ओरालीले यहाँ
भरिएकोले भन्दा धेरै सिक्न सकिन्छ रे खालीले यहाँ
जब आफूभित्रको वास्तविकता आफैँ थाहा पाइन्छ नि,
न त प्रशंसाले मक्ख पार्छ, न दुःखी बनाउँछ गालीले यहाँ ।
३
कठिन प्रश्नका हुन सक्छन् हजुर व्यक्तिको विज्ञताभित्र
र पनि चुपचाप हराइदिन सक्छन् रे दिमागकै शून्यताभित्र
स्पष्ट पार्न खोज्दैनन् र डगमगाउन पनि दिँदैनन् रे आफूलाई,
बुझ्न सक्नेले नै अनेकन् जवाफ भेट्लान् त्यही मौनताभित्र ।
४
हरेक संस्कृति र मौलिकता लुकेको चित्रको मिठास
लोलो पोतो घस्न नजानेको खरो चरित्रको मिठास
सानो–सानो कुरामा अल्झेकाले कसरी मूल्यांकन गर्छ र,
बुझेलाई मात्र त थाहा हुन्छ हजुर मौनताभित्रको मिठास ।