२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सन्धिखर्क नगरपालिकामा बहुवर्षीय योजनाहरुलाई निरन्तरता दिँदा बजेट पुर्‍याउन कठिन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २५ गते १२:३७
सन्धिखर्क नगरपालिकामा बहुवर्षीय योजनाहरुलाई निरन्तरता दिँदा बजेट पुर्‍याउन कठिन

अर्घाखाँची : आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्न अर्घाखाँचीका ६ वटै स्थानीय सरकारहरू व्यस्त छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अघिनै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार बजेटको तयारीमा जुटेको सन्धिखर्कले कार्यपालिकाको बैठक सम्पन्न गरी योजनाको तयारी अन्तिम चरणमा पुर्‍याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए  ।

भुसालका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट नगरसभामा पेस गरी पारित गर्ने व्यवस्था भएकोले सोहीअनुसार बजेट ल्याउने तयारी गरिएको हो । अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको जिल्लाको पहिलो सुविधा सम्पन्न नगरपालिका सन्धिखर्क नगरपालिकामा बहुबर्षीय योजनाहरु धेरै भएकोले पनि ती बहुवर्षीय योजना हरुलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेकोले वडामा सिलिङ घट्न सक्ने भुसालले बताए । 

सन्धिखर्क नगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ अनुसार, उपप्रमुख मिश्रा आचार्यले आगामी आर्थिक वर्ष २०८१-२०८२ को राजश्व आम्दानी व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गते नगर सभामा पेस गर्ने गरी कार्यपालिका बैठकले निर्णय गरेको नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

उक्त बजेटको वार्षिक राजश्व र व्ययमा गत आर्थिक वर्षको राजश्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको असार ३० गतेसम्म नगरपालिकामा  हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरणसमेत नगरसभामा पेस गर्ने गरी सन्धिखर्क नगरपालिकाले बजेट ल्याउने तयारीमा जुटेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । 

नगरप्रमुख श्रेष्ठका अनुसार नगसभामा पेस भएको बजेटमाथि कार्यतालिकामा १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्ने भएकोले बजेट ल्याउन घनिभूत छलफल शुरु गरिएको र बिहिबार कार्यपालिकाको बैठकसमेत सम्पन्न गरिएकोले अब विषयगत समिति राजश्व बाँडफाँड समिति श्रोत पहिचान परिचालन समितिको बैठक बसेर यसलाई अन्तिम रुप दिने गरी कार्यपालिका अगाडि बढिरहेको नगरप्रमुख श्रेष्ठले दाबी गरे । नगरसभामा पेस भएको बजेट असार मसान्तभित्र पारित गरी साउन १ गतेबाट सबै स्थानीय सरकारले लागू गर्ने स्थानीय सरकार सन्चालन ऐनमा कानूनी व्यवस्था रहेकाले सन्धिखर्क नगरपालिकामा भने बजेट पेस हुँदाको दिन नै पारित हुने गरि तयारी गर्न लागिएको छ ।  

सन्धिखर्क नगरपालिकामा बिहिबार  बसेको कार्यपालिका बैठकले  आर्थिक वर्ष २०८१-८२ को लागि १२ वडालाई प्रशासनिक खर्चसहित ३१ लाख ७० हजार नघट्नेगरी अन्तिम सिलिङ निर्धारण गरेको नगरपालिकी उप-प्रमुख मिश्रा आचार्यले बताइन् । नगरपालिकाका प्रवक्ता मोतिजङ्ग रायमाझीका अनुसार बजेट तर्जुमा गर्दा १२ वडा र नगरले अवलम्बन गर्ने मार्गदर्शन समेत टुंगो लगाइएको छ । नगरपालिकाकी अधिकृत मन्जु खनालले मध्यान्हसँग भनिन्, 'नगर सभा गर्ने नगरपालिकाको भावी रणनीतिक योजना बनाउने र नगरपालिकालाई समृद्ध बनाउने गरी जनप्रतिनिधिको निर्देशनअनुसार हामी कर्मचारी पनि काममा जुटेकोले अब नगरसभा गरेर सम्पन्न गर्ने गरी अगाडि बढिएको छ ।'

नगरकार्य पालिकाको निर्देशनअनुसार वडामा जाने बजेट सिलिङ र नगरपालिकाको बजेट सिलिङबाट पूर्वाधारतर्फको कूल विनियोजन बजेटमध्ये १ लाखभन्दा माथिका आयोजना निर्माण गर्ने, खुद्रा योजना नबनाउने, ठूला योजनालाई प्राथमिकता दिने गरी तयारी अगाडि बढाइएको छ ।

सन्धिखर्क नगरपालिकामा वडा  कार्यलयहरु १ देखि ४ सम्म र वडा नम्बर १० र  ११ ले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने ५ वटा   वडा कार्यालय भवन निर्माण गर्नका लागि बहुवर्षीय टेन्डर भई काम सुरु गरिएको छ । यी बहुवर्षीय भवनहरुका लागी पनि नगरपालिकाले यस  आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्नुपर्ने बाध्यता भएकोले नगरपालिकाबाट वडामा जाने सिलिङ थोरै घट्न सक्ने अनुमान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ बताउँछन्  ।

नगरप्रमुख श्रेष्ठका अनुसार यी वडा कार्यालय वाहेक संघीय म्याचिङ फन्ट र प्रदेश म्याचिङ फन्टका बहुवर्षीय योजना झन्डै १४ को हाराहारीमा छन् भने संघीय सरकारबाट आउने राजश्व बाँडफाँडको पैसा सबै प्राप्त नहुँदा बिगतमा सुरु गरेका योजनाहरुको दायित्वसमेत आगामी आर्थिक  वर्षमा जानसक्ने सम्भावना छ । 

नगरप्रमुख श्रेष्ठले मध्यान्हसँग भने -'संघीय सरकार कृषि मन्त्रालयसंगको सहकार्यमा सुरु भएको बहुवर्षीय योजना सन्धिखर्क बहुउद्देश्यीय कृषि  उपज सिस्यान केन्द्रमा स्थानीय सरकारले गर्ने सबै काम पुरा गरेपनि संघीय सरकारले त्यो भवनलाई पैसा नपठाएका कारण काम सम्पन्न हुन सकेको छैन ।  पटक-पटक संघीय सरकारलाई पत्र पठाउँदासमेत सुनुवाइ नभएकोले भवन सम्पन्न गर्न कठिन परेको छ' ।

नगरपालिकाले पूर्वाधारतर्फ विनियोजन रकम मध्येबाट १ लाख भन्दा बढीका आयोजना बनाउने र बाँकी वडाहरुले पनि सोहीअनुसार आयोजना निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाइ छ ।

भुसाल कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क नगरपालिकालाई मुलुकको प्रथम बनाउन सफल अनुभवी प्रशासकीय अधिकृत हुन् । उनले भने- 'नगरपालिकाले १ लाखभन्दा तलका कुनैपनि आयोजना निर्माण गर्न नपाउने गरी कार्यविधि बनाएको छ सोहीअनुसार वडाका जनप्रतिनिधिले कार्यन्वयन गर्नुहुन्छ' । 

सन्धिखर्क नगरपालिका पहाडी जिल्लामध्ये सुविधा सम्पन्न नगरपालिका हो ।  यो नगरपालिकामा आन्तरिक आयश्रोत झन्डै ३ करोड ८०  लाखको अनुमान गरेर  बजेट निर्माण गर्ने गरेपनि सोचेजस्तो राजश्व उठाउन कठिन हुने गरेकोे राजश्व शाखाका अधिकृत मुक्ति खनालले मध्यान्हलाई जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाभित्र सबै सडकहरु यस वर्ष कालोपत्रे हुँदैछन् भने बजारलाई सुन्दरीकरण गर्ने, मर्मत गर्ने जस्ता कामहरु तीब्र गतिमा अगाडि बढिरहेका छन् । नगरपालिकाभित्र शासकीय पूर्वाधार निर्माणको कामपनि निरन्तर चलिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise