२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

भन्सारबाट सामान छुट्नेबित्तिकै भिसिटिएसमा विवरण आउने व्यवस्था गर्न प्रस्ताव

Nada
२०८३ मंसिर ८ गते १३:१०
Shares
भन्सारबाट सामान छुट्नेबित्तिकै भिसिटिएसमा विवरण आउने व्यवस्था गर्न प्रस्ताव

काठमाडौं : भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भिसिटिएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ । 

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भिसिटिएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गरे । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उनले यसैको उदाहरणका रूपमा उल्लेख गरे ।

यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भिसिटिएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आवद्ध गर्नुपर्ने प्रस्ताव गरे । उनले चोरीपैठारी र भिसिटिएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पारे ।

भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भिसिटिएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताए । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानूनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ । 

त्यस्तै, भिसिटिएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए । आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनको सुझाव छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर