
काठमाडौं : नेपाल विज्ञापन संघ (आन)को आयोजनामा भइरहेको ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा.डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिता बारेमा विस्तृत जानकारी गराए ।
यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । यसका साथै संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ ।

आन कार्यसमितिको कार्यादेशबमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पु¥याएको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका यी निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनको मूल्यांकन गर्नेछ ।
अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको छ । तसर्थ, निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नहुने आनले जनाए । इनर्जी ड्रिंक रेडबुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्डस्मा इन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटर्फम इनमार्कको इन एसोसिएसन विथ तथा जिएमडब्लु ओरा, कोकाकोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ ।