२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

छत्रेश्वरी गाउँपालिकाको हिउँदे अधिवेशन, डेढ करोडभन्दा बढी बजेट रकमान्तर

shivam cement
प्रदीप मगर
२०८२ माघ १३ गते २१:४३
Shares
छत्रेश्वरी गाउँपालिकाको हिउँदे अधिवेशन, डेढ करोडभन्दा बढी बजेट रकमान्तर

सल्यान : छत्रेश्वरी गाउँपालिकाको १९औं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनमा प्रशासनिक भवन निर्माणका लागि विनियोजित बजेट तत्काल कार्यान्वयन गर्न नसकिने भएपछि उक्त रकम अन्य विकास योजनामा सार्ने निर्णय भएको छ ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि छुट्याइएको एक करोड ५० लाख रुपैयाँ जग्गासम्बन्धी कानुनी जटिलताका कारण प्रयोग गर्न नसकिने भएपछि र ठेक्का प्रक्रियाबाट बचत भएको रकम समेत जोडेर कुल एक करोड ७१ लाख रुपैयाँ अन्य विकास योजनामा विनियोजन गरिएको गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिए ।

अधिवेशनको अध्यक्षता अध्यक्ष ओजबहादुर बुढाथोकीले गर्नुभएको थियो भने उपाध्यक्ष बुद्धकुमारी खत्रीले बजेट संशोधन प्रस्ताव पेश गरेकी थिइन् । गाउँसभाले उक्त प्रस्ताव बहुमतका साथ पारित गरेको छ । प्रस्तुत गरिएका अन्य सबै विधेयकहरू सर्वसम्मत रूपमा स्वीकृत भएका छन् । 

अधिवेशनमा चालु आर्थिक वर्षको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो । आर्थिक विकास समिति संयोजक टिकाराम बुढाका अनुसार पुस मसान्तसम्म गाउँपालिकाले कुल बजेटको २४.८ प्रतिशत मात्र खर्च गरेको छ। ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपैयाँको कुल बजेटमध्ये १३ करोड ३ लाख १४ हजार ७७३ रुपैयाँ खर्च भएको विवरण गाउँसभामा पेश गरिएको थियो । 

यसै क्रममा कृषि व्यवसाय प्रवर्धन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ गाउँसभामा पेश गरिएको थियो । साथै गत साउनदेखि हालसम्म सम्पन्न सातवटा कार्यपालिका बैठकका निर्णयहरू गाउँसभाबाट अनुमोदन भएका छन् । 

विभिन्न वडाध्यक्षहरूले पनि विज्ञापन व्यवस्थापन, बेरुजु फर्छ्यौट कार्यविधि, लेखा समिति गठन तथा कार्यविधि, गाउँसभा सचिवालय स्थापना र स्वीकृत दरबन्दी सम्बन्धी प्रस्ताव पेश गरेका थिए । 

अधिवेशन समापन समारोहमा अध्यक्ष ओजबहादुर बुढाथोकीले आपसी सहकार्य र विश्वासकै कारण गाउँपालिकाको काम अघि बढिरहेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र जनमुखी विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्य जनप्रतिनिधिहरूले पनि गाउँपालिकाको समग्र विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खबर