
भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
घोराही उपमहानगरपालिकाको ४८औँ नगर स्थापना दिवस तथा ‘लैंगिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै उनले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यका अनुसार जनताको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा महत्वपूर्ण काम भएका छन्, जसको परिणाम अहिले देखिन थालेको छ । उनले भने, ‘यो सबै साझा प्रयत्न र कुशल नेतृत्वको परिणाम हो ।’ घोराही उपमहानगरपालिका प्रदेशकै उत्कृष्ट उपमहानगरपालिका बनेको दाबी पनि उनले गरे ।
घोराहीले यसअघि मानव विकास सूचकका आधारमा बालमैत्री तथा साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरी ‘लैंगिक हिंसा नियन्त्रित नगर’ घोषणा हुनु देश र प्रदेशकै लागि नमुनायोग्य कार्य भएको बताए । ‘अब कुनै पनि घरपरिवारमा लैंगिक हिंसा नहोस् र हुन नदिने प्रतिबद्धता सबैले जनाइसकेका छन्, अब यसको पूर्ण कार्यान्वयन हुनेछ,’ उनले भने ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले ‘लैंगिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१’ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिए । पछिल्लो एक वर्षमा घोराहीमा २२ वटा मात्र लैंगिक हिंसाका घटना दर्ता भएको र जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत रहेको उनले बताए ।
कार्यक्रम उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा घोषणामा योगदान पुर्याउने सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको बताए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई सभ्य र समुन्नत बनाउने दिशामा यो महत्वपूर्ण उपलब्धि भएको भन्दै घोराही उपमहानगरपालिकाले नागरिकमैत्री कामहरू गरेको उल्लेख गरे ।
उनले पूर्वाधार, सामाजिक र आर्थिक विकासमार्फत समाज रूपान्तरणको अभियान अगाडि बढिरहेको बताउँदै लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि विशेष अभियान आवश्यक रहेको धारणा व्यक्त गरे ।