२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बेरोजगारी समस्या समाधानका लागि सेयर बजार प्रभावकारी माध्यम : नगरप्रमुख श्रेष्ठ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ १७ गते २१:२६
Shares
बेरोजगारी समस्या समाधानका लागि सेयर बजार प्रभावकारी माध्यम : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले देशको समग्र आर्थिक गतिविधि चलायमान बनाउन सेयर बजारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले सेयर बजारलाई बेरोजगारी समस्या समाधान गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे । 

साथी सहकारी संस्था अर्घाखाँचीको आयोजना, जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ को प्राविधिक सहयोगमा सन्धिखर्कमा आयोजित वित्तीय साक्षरता तथा सेयर शिक्षा तालिमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले आर्थिक गतिविधि विस्तारका लागि सेयर बजारको सक्रियता अनिवार्य रहेको बताए । 

नगरप्रमुख श्रेष्ठले निजी क्षेत्रले सरकारसँग सहकार्य गरी सेयर बजारलाई ग्रामीण तहसम्म विस्तार गर्न सके नागरिकहरू घरमै बसेर लगानी गर्न सक्ने अवस्था सिर्जना हुने र यसले बेरोजगारी समस्या न्यूनीकरणमा योगदान पुर्‍याउने दाबी गरे । उनले व्यावसायिक वातावरण निर्माण, उत्पादन र रोजगारी वृद्धि गर्न निजी क्षेत्र र संघ, प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

उनले रोजगार सिर्जना, देशभित्रै व्यवसाय विस्तार र लगानी आकर्षण गर्नु सरकारको प्रमुख जिम्मेवारी रहेको बताए । 

वित्तीय साक्षरताको अभावका कारण धेरै नागरिक अवसरबाट वञ्चित भइरहेको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले यस्ता तालिमले लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले युवाहरूलाई समयको सदुपयोग गर्दै सुरक्षित र सचेत लगानीतर्फ अग्रसर हुन आग्रह गरे । 

कार्यक्रममा सहकारीका सदस्य, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । तालिममा सेयर बजार, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा वित्तीय सचेतनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रम साथी सहकारीका अध्यक्ष रुद्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।  उपाध्यक्ष डिलाराम भुसालले स्वागत मन्तव्य राखेका थिए भने सचिव विष्णु बन्जाडेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका स्रोत व्यक्ति सेयर बजार विश्लेषक कमल पौडेल तथा चिरञ्जीवी पौडेलले सहभागीहरूलाई सेयर बजारका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । सेयर विश्लेषक कमल पौडेलका अनुसार उक्त संस्थाले देशका विभिन्न स्थान तथा अनलाइनमार्फत विश्वभरका लगानीकर्तालाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको कम्पनीका प्रतिनिधि चिरञ्जीवी पौडेलले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर