२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अपराध नियन्त्रणमा सक्रिय हुन डीआईजी खत्रीको निर्देशन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ १८ गते २१:४९
Shares
अपराध नियन्त्रणमा सक्रिय हुन डीआईजी खत्रीको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भुपेन्द्र खत्रीले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउने उद्देश्यले सुरक्षा व्यवस्थामा कुनै पनि कमीकमजोरी नगरी उच्च सतर्कताका साथ परिचालित हुन अर्घाखाँचीका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै डीआईजी खत्रीले उच्च व्यावसायिकता प्रदर्शन गर्दै चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै प्रहरी कर्मचारी जिम्मेवारीपूर्वक खटिनुपर्ने बताए ।

डीआईजी खत्रीले कमीकमजोरी गर्ने कमाण्ड तथा गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने स्पष्ट पार्दै उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।  पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिँदा अनुशासन विपरीत काम गरेमा कडा कारबाही गरिने चेतावनीसमेत दिए ।

उनले निर्वाचन सफल बनाउन मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै निष्पक्ष र मर्यादित ढंगले परिचालन हुन निर्देशन दिए । साथै संगठनले लिएको नीति र सोचअनुसार सबै प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रिय हुनुपर्ने बताए ।

प्रदेश प्रहरी प्रमुख खत्रीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समग्र शान्ति सुरक्षा अवस्था, प्रशासनिक कार्यशैली, सेवा प्रवाह तथा अपराध नियन्त्रणको अवस्थाबारे जानकारीसमेत लिएका थिए । उनले नागरिकमैत्री सेवा प्रवाह गर्दै प्रहरी संगठनको व्यावसायिकता र अनुशासन कायम राख्न जोड दिए ।

डीआईजी खत्रीले आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, सवारी दुर्घटना रोकथाम तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । साथै समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीका अनुसार निर्वाचन सम्पन्न नहुँदासम्म गस्ती, पेट्रोलिङ तथा अन्य अपरेशनल गतिविधि अझ सशक्त बनाइनेछ । उनले प्रहरी संगठनले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताए ।

डीआईजी खत्रीको अर्घाखाँची आगमनको अवसरमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर