२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बजेट अभावबीच पनि द्रुत गतिमा अघि बढ्दै सालझण्डी–ढोरपाटन सडक

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ १९ गते २०:३२
Shares
बजेट अभावबीच पनि द्रुत गतिमा अघि बढ्दै सालझण्डी–ढोरपाटन सडक

अर्घाखाँची : पश्चिम नेपालको बहुप्रतिक्षित आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक बजेटको गम्भीर अभावका बाबजुद पनि द्रुत गतिमा अघि बढिरहेको छ । करिब १ सय ९७ किलोमिटर लामो यो सडक आयोजनाले रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने मुख्य लाइफलाइनको रूपमा लिइएको छ ।

आयोजना अन्तर्गत विभिन्न सेक्सनमा ९ वटा ठेक्का मार्फत करिब ८० कि.मी. कालोपत्रे सडक निर्माणको कार्य भइरहेको छ । पाल्पाको खुर्साने देखि अर्घाखाँचीको मैदान, अर्घाखाँचीको माटे–भडारा, गुल्मीको पुर्कोटदह–अर्खाबांग र बागलुङको बुर्तिवाङ–रुद्रताल सेक्सनमा निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।

तर, निर्माण व्यवसायीलाई जति नै ताकेता गर्दा पनि अपेक्षित प्रगति नहुँदा कन्चनखोला–खुर्साने खण्डको निर्माण जिम्मा निर्माण व्यवसायी रमण÷ओम÷सुगम जे.भी.बाट लिइएको छ भने पाल्पाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको योजना कार्यालयले जनाएको छ ।

यस आयोजनाबाट विभिन्न खण्डमा हालसम्म १८ कि.मी. कालोपत्रे सडक निर्माण सम्पन्न गरी सम्बन्धित सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । ठेक्का लागेको ८० कि.मी. सडकमध्ये करिब ७ कि.मी. कालोपत्रे भइसकेको छ । योजना प्रमुखका अनुसार समयमै थप बजेट प्राप्त भए यस आ.व.मा थप ३० कि.मी. सडक कालोपत्रे सम्पन्न गर्न सकिने बताइएको छ ।

यस क्षेत्रमा कालोपत्रे कार्य पूरा भएपछि स्थानीयवासीको आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, सन्धिखर्क बजार क्षेत्रभित्रको ट्रयाक खोल्ने काम अझै बाँकी छ । आयोजनाका प्रमुख गागल कुमार भण्डारीले बजार क्षेत्रमा ट्रयाक खोल्न आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिए । ‘सन्धिखर्क बजार क्षेत्र संवेदनशील र घना बस्ती भएकाले ट्रयाक खोल्न थप समन्वय र प्रक्रिया आवश्यक छ, अहिले त्यसका लागि पहल भइरहेको छ,’उनले भने । 

आयोजना प्रमुख भण्डारीका अनुसार यस आ.व. २०८२÷०८३ मा आयोजनाका लागि १ सय १७ करोडको निर्माण कार्य गर्ने गरी खरिद गुरु योजना तथा श्रोत सहमति प्राप्त भएतापनि करिब ४० करोड मात्रै बजेट विनियोजन भएको छ । सो बराबरको कार्य भइसकेको छ भने थप ७५ करोडको बजेटको लागि फाइल पेश भए पनि श्रोतको चापका कारण थप बजेट उपलब्ध गराउन नसकिने अर्थ मन्त्रालयको पत्र प्राप्त भएकोले निर्माण कार्यलाई निरन्तरता दिन कठिन भइरहेको छ । 

‘बजेट अभावकैबीच पनि निर्माण कार्य गराउने हाम्रो प्रयास जारी छ, तर सरकारले अपेक्षित ध्यान नदिँदा चुनौती बढेको छ,’ उनले भने । 

बजेटको कमीले ठेकेदार व्यवस्थापन, मजदुर भुक्तानी र निर्माण सामग्री आपूर्तिमा समस्या देखिए पनि आयोजनाको टिम सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै काम अघि बढाइरहेको बताइएको छ ।

स्थानीयवासी सडक निर्माणको प्रगतिप्रति आशावादी देखिन्छन् । वर्षौंदेखि कच्ची सडक, हिलो–धुलो र जोखिमपूर्ण यात्राबाट पीडित नागरिकले कालोपत्रे कार्य अघि बढेसँगै व्यापार, शिक्षा, स्वास्थ्य सेवा तथा आपतकालीन आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् । 

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक सम्पन्न भएमा अर्घाखाँचीलाई तराईसँग जोड्नुका साथै ढोरपाटन क्षेत्रको पर्यटन प्रवर्धन, कृषि उत्पादनको बजारीकरण र समग्र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूको भनाइ छ । तर, ठूलो सम्भावना बोकेको यो आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको गम्भीर ध्यान, स्थायी बजेट सुनिश्चितता र नीतिगत सहयोग अनिवार्य रहेको स्थानीयवासी र आयोजनाको निष्कर्ष रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर