
भक्तपुर : विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत निःशुल्क क्यान्सर परीक्षण तथा पुल्चोकदेखि मंगलबजारसम्म जनचेतना ¥याली सञ्चालन गरिएको थियो ।
हरेक वर्ष फेब्रुअरी ४ तारिखमा मनाइने विश्व क्यान्सर दिवस यस वर्ष ‘युनाइटेड बाइ युनिक’(पृथकतामा एकता) भन्ने नारासहित नेपालसहित विश्वभर मनाइँदै छ ।
यस नाराले हरेक व्यक्तिको क्यान्सरसम्बन्धी अनुभव फरक भए पनि सबै मिलेर यस रोगविरुद्ध लड्नुपर्ने सन्देश प्रवाह गर्दछ ।
कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले क्यान्सर उपचार तथा रोकथाम क्षेत्रमा भइरहेको लगानी अझै अपर्याप्त रहेको उल्लेख गरे । उनले क्यान्सर कोषलाई थप सुदृढ बनाउँदै उपचार सेवा विस्तार गर्न सरकार र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको बताए । विभिन्न अस्पतालको सहकार्यमा देशभर क्यान्सर उपचार सेवा विस्तार गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा क्यान्सर विशेषज्ञ डा.उज्जवल चालिसेले क्यान्सरलाई समाजको गम्भीर र चुनौतीपूर्ण स्वास्थ्य समस्याका रूपमा उल्लेख गरे । समयमै परीक्षण र उपचार गरेमा क्यान्सर नियन्त्रण सम्भव हुने भन्दै आम नागरिकमा जनचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले भक्तपुरबाट ललितपुरसम्म जनचेतना र्याली आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिए ।
उनका अनुसार महानगरपालिकाले हालसम्म ७ हजार ९ सय १५ जनाको क्यान्सर परीक्षण गरिसकेको छ, जसमध्ये ५ सय ८४ जनामा क्यान्सर पोजेटिभ देखिएको छ । निःशुल्क परीक्षणमार्फत पहिचान भएका बिरामीहरूको उपचार भक्तपुर क्यान्सर अस्पतालमा गरिएको उनले जानकारी दिए ।
महर्जनले खानपान र जीवनशैलीले क्यान्सर जोखिम बढाउने भएकाले महानगरपालिकाले ‘भान्सा सुधार कार्यक्रम’समेत सुरु गरेको जानकारी दिए ।
स्वस्थ खानपान र जीवनशैलीमार्फत क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा क्यान्सर सर्जन तथा गाइने अन्कोलोजिस्टहरूले क्यान्सरका कारण, आधुनिक उपचार विधि, रोकथामका उपाय तथा नियमित परीक्षणको आवश्यकताबारे सहभागीहरूलाई जानकारी दिएका थिए । उक्त अवसरमा सहभागीहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा पनि उपलब्ध गराइएको थियो ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले क्यान्सरसम्बन्धी जनचेतना बढाउन, समयमै परीक्षण तथा उपचारको महत्वबारे समाजलाई सचेत गराउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।