२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित

ADV
रासस
२०८१ साउन १६ गते १६:५५
वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित

पर्साः औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक–पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् । अत्यधिक गर्मी बढेपनि पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् । 

वीरगञ्ज महानगरपालिका–५ रेशमकोठीका परशुराम कलवारले गर्मीयाममा छिन–छिनमा विद्युत कटौती हुने समस्याले हैरानी खेप्नुपरेको गुनासो गरे । ‘वीरगञ्ज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक–पटक लोडसेडिङ हुँदा बाफिएर बस्नुपरेको छ’, उनले भने, ‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ । विशेष गरी मिनाबजार–गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा दिन होस या रात विद्युत  कटौती नभएको दिनै हुँदैन । यसरी विद्युत  काट्नुभन्दा लोडसेडिङको तालिका दिए जाती हुने थियो ।’ 

वीरगञ्ज आसपासमा आज बिहान केही समय पानी परेको थियो । त्यस बाहेक यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन । 

वीरगञ्जसहित पर्साभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरुले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ । 

औद्योगिक क्षेत्रका ग्राहकले विद्युत् नियमित पाउन सकिरहेका छैनन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बारा–पर्सा औद्योगिक क्षेत्रमा अहिले विद्युत्को नियमित आपूर्ति  हुन नसकेको बताए । ‘अहिले पनि औद्योगिक क्षेत्रमा अघोषित रुपमा दैनिक तीन देखि चार घण्टा बिजुली कटौती भइरहेको छ’, उनले भने, ‘बरु लोडसेडिङ भनेर विद्युत् कटौती गरे कम्तीमा यति समयपछि आउँछ भनेर ढुक्क हुने अवस्था हुन्थ्यो ।’ नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासयी भएको उनको भनाइ छ ।  

उनले बारा–पर्सा औद्योगिक क्षेत्रमा दैनिक तीन–चार सय मेगावाट भए पनि पर्याप्त मात्रामा प्रसारणलाइन नहुँदा बारम्बार विद्युत् कटौती हुने समस्या भोगिरहेको बताए । ‘वीरगञ्जको बजार क्षेत्रमा अधिकांशले एसी र पङ्खा प्रयोग गरिरहेका छन् । अर्कोतर्फ विद्युतीय सवारीसाधन पनि चार्जिङ गर्ने भएकाले घरासयी बिजुलीको खपत बढिरहेको छ । तर, माग अनुसार विद्युत् आपूर्ति गर्ने वितरण प्रणालीको विकास नगर्दा विद्युत् कटौती हुने समस्या व्याप्त छ’, उनले भने, ‘अहिले विद्युत् प्राधिकरणमा राम्रोसँग लोड व्यवस्थापन गर्न नसक्दा लोडसेडिङ हुने समस्या कायम छ ।’

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेले ‘भोल्टेज डाउन’ भए पनि करेन्ट बढेकाले समस्या आएको जानकारी दिए । ‘बेला–बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मरलगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत् कटौती गर्नुपरेको छ’, उनले भने, ‘अहिले अधिकांश तराई क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या छ ।’

प्रमुख दुबेले वीरगञ्ज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युत्को माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज भएको बताए । ‘गर्मी बढेसँगै यस क्षेत्रमा विद्युत्को लोड ह्वातै बढेको छ । लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ । कुनै ठाउँमा तार जल्ने गर्छ । सो ठाउँमा मर्मतसम्भारका लागि केही समय लाग्ने गर्छ’, उनले भने, ‘हामी पनि सुरक्षित हुँदै विद्युत् मर्मतसम्भार गरिरहेका छौंँ ।’ वीरगञ्ज आसपासमा अव्यवस्थित रहेका केबल तथा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीका तारमा बारम्बार आगजनी हुने हुँदा समस्या भइरहेको उनको भनाइ छ । 

प्रमुख दुबेले विद्युत् कटौती भएका स्थानमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर काम गरिरहेको दाबी गरे । ‘वीरगञ्ज आसपासमा माग अनुसारकै विद्युत्को आपूर्ति भइरहेको छ । यसमा कुनै समस्या छैन ।बारा र पर्सा करिडोरमा करिब तीन सय मेगावाट विद्युत माग छ’, उनले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise