
अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ तथा चौमासिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो चार महिनामा भएका प्रगति, सेवा प्रवाह, विकास निर्माण, सामाजिक उत्तरदायित्व तथा आगामी रणनीतिबारे विस्तृत समीक्षा र छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले चार वर्षअघि कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट नतिजा हासिल गर्दै नेपालकै तृतीय उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित छत्रदेव गाउँपालिकाले प्राप्त गरेको विरासत जोगाइराख्न जनप्रतिनिधि र कर्मचारीहरू निरन्तर सक्रिय रहेको बताए ।
अध्यक्ष श्रेष्ठले भने, ‘नागरिकले सरकार खोज्दै कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकार नै नागरिकको दैलोमा पुग्ने व्यवस्था गाउँपालिकाले अवलम्बन गरेको छ। स्वास्थ्य, शिक्षा, रोजगार र आधारभूत पूर्वाधारलाई केन्द्रमा राखेर नागरिकमैत्री र परिणाममुखी कामहरू गरिरहेका छौं ।’
सिंहदरबारको अधिकार गाउँमै पुर्याउने नीति अनुरूप गाउँपालिकाले सबै वडामा नागरिकमैत्री एकीकृत घुम्ती सेवा सञ्चालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेका अनुसार ग्रामीण अल्ट्रासाउन्ड सेवा अन्तर्गत गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा वडामै पुगेर निरन्तर सञ्चालन हुँदै आएको छ। यसले सुत्केरी महिलाको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
गाउँपालिकाले प्रत्येक वर्ष निःशुल्क विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र हाल गर्भवती महिलाको भिडियो एक्स–रे सेवा गाउँटोलमै पुर्याइएको जानकारी सार्वजनिक सुनुवाइमा दिइएको थियो। साथै स्वास्थ्य चौकी निर्माण, विशेषज्ञ सेवा विस्तार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
चौमासिक समीक्षामा अधिकांश स्थानमा सडक पिच, बजार क्षेत्रमा सडक बत्ती तथा हाईमास्ट लाइट जडान, चोरी नियन्त्रणका लागि सिसिटिभी जडान, वडा कार्यालय भवन निर्माण, सार्वजनिक सम्पत्तिको संरक्षण, साना बजार क्षेत्रका सडक चौडा पार्ने तथा पर्यटकीय क्षेत्र संरक्षणका कामहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइयो। लामो समयदेखि अलपत्र परेको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।
उद्देश्यविपरीत सञ्चालन भएका र लामो समयदेखि निष्क्रिय सहकारी संस्थाहरूलाई नियमन थालिएपछि सहकारी क्षेत्र अनुशासित बन्दै गएको बताइएको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार लगातार दुई आर्थिक वर्षसम्म कारोबार नगरेका तथा नियमविपरीत कार्य गर्ने सहकारीलाई कारबाही गरिएको जानकारी दिइएको छ ।
छत्रदेव गाउँपालिकाले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, दलित, जनजाति, आदिवासी तथा पछाडि परेका समुदायलाई लक्षित गरी घरमै पुगेर सेवा प्रदान गर्दै आएको जनाएको छ । जेष्ठ नागरिक सुरक्षा भत्ता कार्ड नवीकरण, ब्लांकेट तथा पोषण सामग्री वितरण, अपांग परिचयपत्र घरमै पुर्याउने सेवा प्रभावकारी बनेको सहभागीहरूले बताएका छन् ।
गाउँपालिकाले सञ्चालन गरेका ८ वटै वडाका सिपमूलक तालिम, कृषि, पशुपालन, भेटेरिनरी तथा युवा–किशोर लक्षित कार्यक्रमबाट हजारौं स्थानीयवासी लाभान्वित भएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले योजना अनुगमन, भ्रष्टाचार नियन्त्रण, जेष्ठ नागरिक सम्मान, कृषक तथा नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् । बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्यसहित अनुगमन तीव्र पारिएको उनको भनाइ थियो ।
गोष्ठीमा वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली कांग्रेसका प्रकाशराज पन्थी र नेकपा का तारा पाण्डेले सुझावसहित आफ्ना धारणा राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत खनालले सहजीकरण गरेको कार्यक्रममा आगामी दिनमा पालिका प्रहरी नियुक्त गर्ने, रिक्त प्राविधिक पदपूर्ति गर्ने र प्रशासकीय भवन सम्पन्न गरी सेवा प्रवाहलाई अझ सहज बनाउने योजना रहेको जानकारी गराइएको थियो ।
गोष्ठीमा सहभागीहरूले छत्रदेव गाउँपालिकाले साँच्चिकै ‘घरदैलोमै सरकार’को अनुभूति दिलाएको निष्कर्ष निकाल्दै स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बन्दै गएको बताएका छन् ।