२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

फतुवा बिजयपुरमा एचपिभी खोप अभियान सञ्चालन गरिने

shivam cement
कृष्ण तिवारी
२०८२ माघ २३ गते २१:०८
Shares
फतुवा बिजयपुरमा एचपिभी खोप अभियान सञ्चालन गरिने

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एचपिभी खोप अभियान २०८२ सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य शाखा सह–संयोजक रमेश यादवको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा पूर्वप्रशासकीय अधिकृत प्रमोद गुप्ताले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, महत्त्व र प्रभावकारिताबारे जानकारी गराउँदै पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने एचपिभी खोपको आवश्यकतामाथि प्रकाश पारे ।

उनका अनुसार फतुवा बिजयपुर नगरपालिकामा एचपिभी खोप अभियान माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।

खोप सेवा विद्यालयमै खोप केन्द्र स्थापना गरी प्रदान गरिने र विद्यालयको पहुँच बाहिर रहेका किशोरीहरूले विद्यालय वा स्वास्थ्य संस्थामार्फत खोप सेवा पाउने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख उपेन्द्र साह, वडा नं. १ देखि ११ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रधानाध्यापक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

नेपालमा हरेक वर्ष करिब दुई हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्य उल्लेख गर्दै एचपिभी खोप लगाउँदा उक्त क्यान्सरको जोखिम करिब ७० प्रतिशतसम्म घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर