
काठमाडौं : नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ । क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा भने यो पहिलो स्थानमा छ ।
स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम क्यान्सर मुख्य गरेर एचपिभी भाइरसको संक्रमणबाट हुने बताउँछन् । त्यसैलाई रोक्न नेपाल सरकारले गत वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ ।
पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा जनस्वास्थ्यको समस्याका रूपमा नहुने अवस्थामा पुर्याएर निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित खोपका रूपमा सुरुवात गरिएको हो । गत वर्ष १५ लाख किशोरीलाई खोप लगाइएको डा. गौतम बताउँछन् । आजबाट सुरु गरिने यस वर्षको खोप संख्या भने ३ लाख ४५ हजार बढी रहेको उनको भनाइ छ ।
चिकित्सकहरूका अनुसार यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । डा. गौतमका अनुसार एचपिभीका २ सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छन् । यसमा पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाटै हुने गरेको उनको भनाइ छ ।
चिकित्सकका अनुसार असुरक्षित यौन सम्पर्क, मुख मैथुन आदिबाट यो सर्न सक्छ । छालाको प्रत्यक्ष सम्पर्क अर्थात्, संक्रमित व्यक्तिको यौनांगको छालासँग अर्को व्यक्तिको छालाको घनिष्ठ सम्पर्क हुँदा सर्न सक्छ । यो भाइरस छालाको अति सूक्ष्म प्वालबाट छिर्न सक्छ ।
पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्न विश्व स्वास्थ्य संगठनले तीनवटा स्वास्थ्य सेवाहरूको गन्तव्य निर्धारण गरेको छ । जसमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, उच्च गुणस्तरीय विधिबाट पाठेघरको मुखको परीक्षण र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गरिन्छ ।
नेपालमा तीमध्ये दोस्रो र तेस्रो सेवा विगत लामो समयदेखि उपलब्ध गराइँदै आएकोमा गत वर्षदेखि यो रोगविरुद्धको एचपिभी खोप सुरु भएको हो । यो खोपले पाठेघरको क्यान्सर हुन नदिन ९५ देखि शतप्रतिशतसम्म प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ ।
डा. गौतमका अनुसार नियमित खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा कुनै कारणवश विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई यस वर्षको एचपिभी खोप दिइँदै छ ।
साथै गत वर्ष सञ्चालन भएको एचपिभी खोप अभियानमा खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीलाई पनि यो वर्ष अन्तिम मौकाका रूपमा एचपिभी खोप दिइने उनले बताए । अत्यधिक चिसो तथा हिमपातका कारण केही हिमाली जिल्लाहरूमा भने यो कार्यक्रम चैत–वैशाखमा सञ्चालन गरिनेछ ।