२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अर्घाखाँचीमा एचपिभी खोप अभियान तीव्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ २५ गते २१:१६
Shares
अर्घाखाँचीमा एचपिभी खोप अभियान तीव्र

अर्घाखाँची : नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको छ । तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, भने १ हजार ३ सय १३ जनाले यही रोगका कारण ज्यान गुमाउने गरेका छन् । 

महिलाको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपायका रूपमा एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोपलाई मानिँदै आएको छ ।

यही सन्दर्भमा अर्घाखाँची जिल्लाभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भी. खोप अभियानलाई तीव्र बनाइएको छ । जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था तथा विद्यालयहरूको सहकार्यमा लक्षित उमेर समूहका किशोरीहरूलाई खोप सेवा सुनिश्चित गर्ने उद्देश्यसहित अभियान सञ्चालन भइरहेको छ ।

विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला खोप समन्वय समिति अर्घाखाँची तथा सरोकारवालाहरूबीच जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएका छन् । 

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा खोपको महत्व, लक्षित समूह, खोप सञ्चालन प्रक्रिया तथा विद्यालयस्तरमा देखिने चुनौती र समाधानका उपायबारे छलफलपछि जिल्लाभर अभियान सुरु गरिएको हो । 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भी. खोप अत्यन्त प्रभावकारी रहेको बताए । 

उनले लक्षित उमेर समूहका किशोरीहरूलाई नियमित रूपमा खोप लगाउन विद्यालय, अभिभावक र समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबैलाई सक्रिय हुन आग्रह गरे । कोइरालाका अनुसार एक किशोरीलाई एक मात्रा खोप लगाउँदा राज्यको ६ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च हुने भएकाले राज्यले गरेको लगानीको सदुपयोग गर्न सबै लक्षित किशोरीलाई खोप लगाउनु आवश्यक छ ।

सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी तथा अर्घाखाँची अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीले संयुक्त रूपमा खोप अभियानलाई सफल बनाउन सबै पक्ष जुट्नुपर्ने धारणा व्यक्त गरे । 

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलका अनुसार एच.पि.भी. खोप अभियान यही माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० वर्ष उमेर समूहका किशोरीहरू लक्षित छन् । ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूको नामावली संकलन कार्य सम्पन्न भइसकेको छ ।

जिल्लाभर १ सय ४५ वटा विद्यालयलाई खोप केन्द्र तोकिएको छ भने कुल १ हजार ५ सय ३० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । प्रारम्भिक रूपमा लक्षित १ हजार ४ सय ५२ जना किशोरी भए पनि थप सहभागिताका कारण १ हजार ५ सय ३० जनाले खोप लगाउने अनुमान गरिएको छ । अघिल्लो वर्ष अर्घाखाँचीमा ७ हजार ६ सय ४१ जना किशोरीलाई एच.पि.भी. खोप लगाइएको थियो । 

अहिले सञ्चालनमा रहेको खोप अभियानको सहजीकरण स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलले गरिरहनुभएको छ भने सबै स्थानीय तहहरू अभियानमा परिचालित भएका छन् । 

अभियानअन्तर्गत ढाकावाङ्ग स्वास्थ्य चौकीमा एच.पि.भी. खोप अभियान सफल बनाउने उद्देश्यले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा सरोकारवालाहरूबीच समन्वय बैठकसमेत सम्पन्न भएको छ । बैठकमा स्वास्थ्य चौकी प्रमुख रञ्जिता रायमाझीले एच.पि.भी. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको भूमिकाबारे जानकारी दिएका थिएकी थिइन् । 

स्वास्थ्यकर्मीहरूका अनुसार एच.पि.भी. खोप पाठेघरको मुखको क्यान्सरबाट जोगाउने सुरक्षित र वैज्ञानिक रूपमा प्रमाणित उपाय हो । त्यसैले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप सेवा सुनिश्चित गर्न अभिभावक, विद्यालय र समुदायबीच बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

जिल्लास्तरबाट सुरु गरिएको यस एच.पि.भी. खोप अभियानले महिलाको स्वास्थ्य सुरक्षामा दीर्घकालीन योगदान पुर्‍याउने र भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर