२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गण्डकी प्रदेश समन्वय परिषद् कतारको वार्षिक साधारण सभा सम्पन्न

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ २७ गते २२:५७
Shares
गण्डकी प्रदेश समन्वय परिषद् कतारको वार्षिक साधारण सभा सम्पन्न

दोहा कतार : कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । परिषद्को आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको पूर्ण सहभागितामा साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर वक्राको समुन्द्री तटमा मंगलबार परिषद् कतारका अध्यक्ष नन्दलाल विकको अध्यक्षता तथा परिषद्का संस्थापक अध्यक्ष आसबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

बागलुङको पश्चिम भेगको पुर्कोटे र हटियामा प्रचलित नौमती बाजाको पूजासहित शुभारम्भ भएको कार्यक्रममा कतारको खेलकुद दिवसको सम्मानमा बन्द डब्बामा चनाका गेडा राखी सो चनाका गेडा कति छन् भनी अनुमान गर्दै लेख्ने र विजेता छान्ने खेल रोचक बन्यो । उक्त खेलको महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फ दिनेश लामिछानेले डब्बामा भएको संख्याको नजिकै लेख्दै जित निकाल्दै जनही १ सय १ रियाल पुरुष्कार हात पारे ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले परिषद्ले आफ्नो कार्यतालिका बमोजिम आयोजना गरेका कार्यक्रम निकै लाभदायी रहेको बताए । साधारण सभामा लमजुङे कवि सिताराम थापाले कविता वाचन गरे भने तारा बिसीले गायन र करुणा थापा मगरले नृत्यमार्फत मनोरञ्जन प्रदान गरिन् । साधरणसभाको समापन गर्दै अध्यक्ष विकले गण्डकी प्रदेशले सदैव फरक किसिमको कार्यक्रम गर्दै आएको बताउँदै आमन्त्रित पाहुना, आबद्ध जिल्ला संस्थासहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए । 

कार्यक्रमलाई महासचिव मनप्रसाद राना मगरले सहजीकरण गर्दै कार्यसमितिले पछिल्लो एक वर्षमा गरेका विविध गतिविधि समेटिएको कार्यप्रगति  पेस गरेका थिए । 

त्यस्तै कोषाध्यक्ष मदन जिसिले आयव्यय पेस गरेका थिए भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राख्दै परिषद्ले छिट्टै बृहत् सांस्कृतिक कार्यक्रम लिएर आउने बताए । सभामा गण्डकी प्रदेशवासी तथा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति तथा सीमित शुभकामना मन्तव्य रहेको थियो । 

कार्यक्रममा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा नौमती बाजाका संयोजक सन्तोष पौडेललाई फेटाद्वारा सम्मान गरिएको थियो भने लमजुङ सेवा समाज कतारका तर्फबाट आयोजकलाई कोसेली उपहार स्वरूप प्रदान गरिएको थियो । 

छोटो कार्यक्रममार्फत साधारण सभा सम्पन्न गरेको परिषद्को औपचारिक कार्यक्रम समापन पश्चात् पञ्चेबाजामा उपस्थित छमछमी नाचे ।

थुप्रै कलाकारहरूले पञ्चेबाजामा दोहोरी गाए भने उपस्थित सबैले कुर्ची छोडेर बाजामा फन्को लगाए । दिउँसो तातो र साँझ पर्दै जाँदा चिसिँदै गएको समुन्द्री तटको चिसोलाइ बाजा र नाचले जितेको थियो । बाजामा गाउँदै रमाइलो गर्ने क्रम अबेर साँझसम्म चलेको थियो ।

सम्बन्धित खबर