
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
उनले विद्यालयले प्रदान गरिरहेको शिक्षाको स्तर र विद्यार्थीको नतिजाबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरे । ‘तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनु भएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ । बोर्डिङको फेसन बढ्दै गएको छ । तर, तपाईंहरूले मेहनत गर्नुभयो भने बोर्डिङभन्दा राम्रो शिक्षा दिन सक्नुहुन्छ । यो विद्यालयलाई नमुनायोग्य बनाउन सकिन्छ,’उनले भने ।
अभिभावकहरूलाई आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्न आग्रह गर्दै उनले सानो उमेरदेखि नै अनुशासन र नैतिक शिक्षामा जोड दिनुपर्ने बताए । ‘मुलुकमा अराजकता बढ्दै गइरहेको छ । सानैदेखि बालबालिकालाई नैतिकवान र अनुशासित बनाउन आवश्यक छ । बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौं भने, घर र समाज बुझायौं भने त्यो बच्चाको भविष्य उज्ज्वल हुन्छ,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले गाउँमा विकास पुगेकाले अब गाउँ फर्किन पनि आह्वान गरे । विकास निर्माणको दृष्टिकोणले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरणीय जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उनले गाउँगाउँमा कच्ची बाटाहरू पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको तथा विद्यालय र स्वास्थ्य चौकी स्थापना भएको जानकारी दिए ।
‘हिजो तपाईंहरूले नै गाउँमा विकास ल्याउनुपर्छ, बाटो बनाउनुपर्छ, विद्यालय खोल्नुपर्छ, स्वास्थ्य चौकी खोल्नुपर्छ भन्नुभएको थियो । अहिले ती कुराहरू पूरा हुँदै गइरहेका छन् । तर, विडम्बना गाउँ खाली हुँदै गएका छन् । घरका ढोकामा ताल्चा झुण्डिएका छन् । छानाहरू चुहिन थालेका छन् र भत्किन थालेका छन्,’उनले भने ।
उनले पुर्खाहरूले गाउँ विकासका लागि गरेको योगदान स्मरण गर्दै गाउँलाई समृद्ध बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लक्ष्मी शर्मा ज्ञवालीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि समुदाय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताइन् । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले विद्यालयको ७५ वर्षे ऐतिहासिक यात्राले शैक्षिक चेतना विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा सीपमूलक शिक्षा प्रवद्र्धन गरिने बताए ।
उपाध्यक्ष मनि पन्थीले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षक–विद्यार्थीको अनुशासन र नियमित अनुगमन आवश्यक रहेको बताइन् ।
वडा नम्बर १ का अध्यक्ष काजिबाबु ज्ञवाली र वडा नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनालले स्थानीय स्रोत–साधन परिचालन गरी विद्यालय विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडा नम्बर १ का पूर्व अध्यक्ष प्रकाशराज पन्थीले विद्यालय स्थापना र विकास यात्रामा समुदायको योगदान स्मरण गर्दै आगामी पुस्ताका लागि सुदृढ शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, सूचना र सचेतनाको विस्तारले बसाइँसराइको प्रवृत्ति न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा गाउँकार्यपालिका सदस्य, विद्यालयका चन्दादाता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो ।
हीरक महोत्सवको अवसरमा स्थानीय वेदवा ‘१० भाइ’ ज्ञवाली परिवारको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरको व्यवस्थापन सुदीप ज्ञवाली र विदुर ज्ञवालीले गरेका थिए भने आर्थिक सहयोग वेदवा १० भाइ परिवारबाट उपलब्ध गराइएको थियो । शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा औषधि वितरण गरिएको आयोजकले जनाएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेको अवस्थामा यस प्रकारको शिविरले स्थानीय बासिन्दालाई प्रत्यक्ष राहत पुगेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न सहयोगदाता तथा अक्षयकोष दातालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ईश्वर ज्ञवालीले गरेका थिए भने विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक बलबहादुर घर्तीले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विस्तार, आगामी योजना तथा चुनौतीबारे विस्तृत जानकारी दिइएको थियो ।
विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा प्रतिबद्धता घोषणासहित सम्पन्न हीरक महोत्सवले विद्यालयको गौरवपूर्ण इतिहास स्मरण गराउँदै आगामी दिनमा अझ सशक्त शैक्षिक अभियान अघि बढाउने संकल्प व्यक्त गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरूले विकाससँगै जनशक्ति गाउँमै टिकाउने वातावरण निर्माण गर्न सके मात्र समृद्ध र आत्मनिर्भर गाउँ निर्माण सम्भव हुने धारणा राख्दै सामूहिक पहलको आवश्यकता औंल्याएका थिए ।