
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले कर प्रशासनसम्बन्धी सेवा नागरिककै घरदैलोबाट उपलब्ध गराउने लक्ष्यसहित करदाता सेवा शाखाको औपचारिक उद्घाटन गरेको छ । नेपाल सरकारको निर्णयअनुसार देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था भएपछि शितगंगाले उक्त सेवा कार्यान्वयनमा ल्याएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार ‘करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२’बमोजिम शाखा सञ्चालनमा ल्याइएको हो । शाखाको उद्घाटन नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा तथा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोख्रेल र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्णप्रसाद न्यौपानेले स्थानीय तहबाट कर सेवा प्रवाह सुरु हुनु कर प्रशासनलाई थप प्रभावकारी, पहुँचयोग्य र उत्तरदायी बनाउने महत्वपूर्ण कदम भएको बताए । उनीहरूले राजस्व विभागबाट आवश्यक प्राविधिक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीलाई आग्रह गरेका थिए ।
नगर प्रमुख पौडेलले अब करदाताहरूलाई कर चुक्ता प्रमाणपत्र लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै वास्तविक अर्थमा सिंहदरबारको अधिकार घरघरमा पुगेको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रदेशमै पहिलो पटक शितगंगाबाट यस्तो सेवा सुरु हुनु गौरवको विषय भएको बताउँदै नगरपालिकामा हाल १ हजार ३८२ करदाता आबद्ध रहेको जानकारी दिए । सेवा सञ्चालनपछि व्यवसायीहरूको समय र खर्च दुवै बचत हुने उनको भनाइ थियो ।
वडा नं. ९ का अध्यक्ष भीम केसीले कर चुक्ता प्रमाणपत्रका लागि कृष्णनगर जानुपर्ने बाध्यता हटेको उल्लेख गर्दै यसले संघीय र स्थानीय सरकारबीचको समन्वय थप मजबुत बनाउने बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले कर शाखा कार्यान्वयनमा नगरपालिका नेतृत्वको सक्रिय भूमिकाप्रति खुसी व्यक्त गरेका थिए ।
सेवा प्रवाहको नियमितता र दिगोपन सुनिश्चित गर्न आवश्यक प्राविधिक तथा सम्भावित आर्थिक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख गीता भाट, योजना शाखा प्रमुख तथा प्रशासकीय अधिकृत नुमलाल खनाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत नुमलाल खनालले गरेका थिए ।
अन्त्यमा नगर प्रमुख पौडेलले कर सेवा शाखाको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सहज, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।